प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

बुधबार, १९ पुस २०७४, १३ : २८
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । देशको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न प्रधानमन्त्री देउवाले बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले बिहीबार बिहान ९ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार राष्ट्रियसभाको निर्वाचन, प्रदेश प्रमुखहरुको नियुक्ति र प्रदेशहरुको अस्थायी राजधानी तय गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।

मंगलबार बेलुकी प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तामा राष्ट्रियसभाको निर्वाचन, प्रदेश प्रमुखहरुको नियुक्ति र प्रदेशको अस्थायी राजधानी तय गर्ने विषयमा सवै दलहरुसँग परामर्श गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए ।

यस्तै, कांग्रेसका शीर्ष नेताहरुले पनि मंगलबार बिहान प्रधानमन्त्री देउवालाई अन्य दलहरुसँगको परामर्शमा राष्ट्रियसभाको निर्वाचनका लागि मिति तय गरेर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका थिए । निर्वाचन आयोगले सरकारसँग आगामी माघ २५ गतेका लागि राष्ट्रियसभाको निर्वाचन मिति तय गर्न प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री देउवासँग केही दिनअघि भएको भेटमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति माघ २५ गते बिहीबारका लागि घोषणा गर्न उपयुक्त हुने परामर्श दिएको आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।

प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार सरकारले राष्ट्रियसभाको निर्वाचन अगावै प्रदेश प्रमुखहरु नियुक्त गर्ने तयारी गरेको छ । संविधान अनुसार प्रदेशसभा निर्वाचनको परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने भएकाले सरकारले राष्ट्रियसभा निर्वाचन अगावै प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको हो ।

तर निर्वाचनमा कम्युनिष्ट गठबन्धनको पक्षमा जनादेश आएपछि नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु आगामी सरकारले नै प्रदेश प्रमुख नियुक्ति गर्ने बताउँदै आएका छन् । केही साताअघि एमाले अध्यक्ष केपी ओलीले अहिलेको सरकारले प्रदेश प्रमुख नियुक्त गरे शपथ नखाने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस