काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि नेताहरु तानातानमा छन् । संस्थापन पक्ष (केपी ओली) पक्षमा नेताहरुको ब्यवस्थापन जटिल बन्न थालेपछि ओलीसँग चुनावी प्रतिस्पर्धा गर्न लागेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल समुहले ओली पक्षका चार नेतामा आखाँ लगाएको छ ।
पोखरेल पक्षले ओलीले चार नेतालाई कसरी ब्यवस्थापन गर्छन्, त्यस आधारमा आफनो टिम निर्माण गर्नेगरी छलफल अगाडी बढाएका छन् । खासगरी पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र लेखराज भट्टमाथी पोखरेल समुहले आखाँ लगाएको हो ।
पोखरेल पक्षले युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टलाई उपाध्यक्षमा मिलाउने छ । गुरुङलाई महासचिव दिएर योगेश भटटराईलाई उपमहासचिव बनाउने र ओली पक्षका विश्वकर्मा, भट्ट, महासेठ आए त्यसबाट दुई जनालाई उपमहासचिव दिन सक्ने गरी तयारी थालेको छ ।
ओली समुहमा गुरुङले महासचिव र महासेठ, विश्वकर्मा र भट्टले उपमहासचिवको दावी गरिरहेका छन् । तर ओली पक्षमा नेता ब्यवस्थापन जटिल बनेपछि उनीहरुले हाल रहेकै पदमा चित्त बुझाउनु पर्ने गरी ओलीले थन्काउन सक्ने देखेपछि पोखरेल पक्ष यी चार नेतासँग प्रत्यक्ष-अप्रत्यक्ष संवादमा जुटिसकेको स्रोतको भनाई छ ।
ओली समुहमा तीन उपाध्यक्ष र महासचिवमा कसलाई ल्याउने भन्ने विषय जटिल बनेको छ । ओली अहिले रहेका पदाधिकारीलाई त्यही ठाँउमा पूनः दोहोराएर नेताहरुको ब्यवस्थापन गर्न कोसिसमा लागेका छन् । त्यसो हुँदा उनले तीन उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा (बादल) र गुरु बराललाई नै दोहोराउनु पर्ने बाध्यतामा छन् ।
महासचिवमा शंकर पोखरेललाई नै उनले दोहोराउन चाहेका छन् । तर प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले महासचिवको दावी नछोडेका कारण ओली अप्ठ्यारोमा परेका छन् । उपमहासचिवमा गुरुङ, ज्ञवाली र विष्णु रिमाललाई नै दोहोराउने र सचिवमा पनि पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुविर महासेठ र लेखराज भट्टलाई दोहोराउने ओलीको तयारी छ । बाँकी तीन सचिवमा भने महेश बस्नेत, भानुभक्त ढकाल, गोरखबहादुर बोगटी र यमलाल कँडेलमध्येबाट छान्ने तयारी ओलीको छ ।
तर, गुरुङ उपमहासचिवमै दोहोरिन चाहिरहेका छैनन । छविललाल विश्वकर्मा, लेखराज भट्ट र रघुविर महासेठपनि सचिवमा नै दोहोरिन चाहेका छैनन । यी नेतालाई आफनो टिममा ल्याएर गुरुङलाई महासचिव र विश्वकर्मा, भट्ट र महासेठलाई उपमहासचिव तिर मिलाउन सकिने आश्वासन सहितको संवादमा पोखरेल पक्ष छ । यी चारमध्ये चारै नेता आफनो पक्षमा आउने विश्वासमा भने पोखरेल पक्ष छैन ।
त्यसमध्ये दुई जना सम्म तान्न सकिने रणनीतिमा यो समुहले चार नेतासँग विशेषगरी प्रत्यक्ष-अप्रत्यक्ष संवाद चलाएको स्रोतको भनाई छ । पोखरेल पक्षमा उपाध्यक्षमा युवराज ज्ञवाली आउनेछन् । अष्टलक्ष्मी शाक्यले टिम मिलाउन सहज बनाउन आफुले त्याग गर्न सक्ने पोखरेललाई बताईसकेका छन् । ओली पक्षमा रहेका नेता तानेर ब्यवस्थापन गर्नुपर्ने अवस्थामा शाक्यले इश्वरलाई सहज हुनेगरी त्याग गर्नेछिन् ।
गुरुङ लगायत नेता तान्न सकिए पोखरेल पक्षले युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टलाई उपाध्यक्षमा मिलाउने छ । गुरुङलाई महासचिव दिएर योगेश भटटराईलाई उपमहासचिव बनाउने र ओली पक्षका विश्वकर्मा, भट्ट, महासेठ आए त्यसबाट दुई जनालाई उपमहासचिव दिन सक्ने गरी तयारी थालेको छ ।
तर ओली पक्षका कोही नेता तान्न नसकिए युवराज ज्ञवाली, गोकर्ण विष्ट र अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्ष, सुरेन्द्र पाण्डेलाई महासचिव, योगेश भटटराईलाई उपमहासचिव, विन्दा पाण्डे, कर्ण थापालाई पनि उपमहासचिव उठाउने तयारी पोखरेल पक्षको छ । सचिवमा भने गोकुल बास्कोटा, ठाकुर गैरे, बिनोद ढकाल लगायत नेताहरुको टिम निर्माण गर्ने तयारी पोखरेल पक्षको छ ।
तर यो पक्षले सकभर गुरुङ, विश्वकर्मा, महासेठ र भट्टलाई ओली समुहमा माग गरेकै पद दिने सन्देश पठाईरहेका छन् । उनीह्रु भने सकभर ओलीलाई नै गलाएर आफुले रोजेको पद लिने तयारीमा छन् ।
यही बुझेरै ओलीले पनि गुरुङलाई उपाध्यक्ष तिर तानेर गुरु बराललाई अन्य केही संसदीय जिम्मेवारीतिर पठाउने गरी छलफल गरिरहेका छन् । ओलीले निकट समयमा राष्टिय सभा चुनाव रहेको, प्रतिनिधिसभा चुनाव पनि भएकोले त्यसतर्फ उम्मेदवार बनाउने आश्वासन समेत दिएर टिम ब्यवस्थापन गरिरहेको पनि बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ मंसिर २०८२, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेमा इश्वर पोखरेलको उम्मेदवारी घोषणा मंसिर ९ मा !
ओलीले विधान महाधिवेशनमा छलफलमै लान नचाहेका एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको यस्तो छ फरक मत (पूर्णपाठसहित)