काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य भएको बताएका छन् ।
निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई बधाई तथा शुुभकामना दिँदै प्रधानमन्त्री ओलीले तानाशाही विरुद्धको सङ्घर्ष, त्यस सङ्घर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं आफ्ना पेसागत हकहितका भएका आन्दोलन उल्लेखनीय रहेको बताए । निजामती सेवाले कानुनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ गते यो दिवस मनाउने गरिएको छ ।
प्रधानमन्त्री ओलीले कर्मचारीहरुले सहभागिता जनाएका र योगदान पुर्याएका आन्दोलनहरु सफल भएका र कर्मचारीका मागहरु क्रमशः पूरा हुँदै गएका उल्लेख गरे । “आज देशमा लोकतन्त्र छ, लोकतान्त्रिक संविधान छ र जनतामा सार्वभौमसत्ता रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली छ । अब हामी जो जहाँ छौँ, त्यहीँबाट सबैले यस प्रणालीलाई सफल पार्नु छ । यतिबेला समस्त कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनु जरुरी छ”, उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
यसका लागि आफ्नो दक्षता अभिवृद्धि गर्न र देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुनसमेत जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण निजामती कर्मचारीमा उच्च नैतिक आचरण, इमान्दारिता र पेसागत निष्ठामार्फत जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भनी शुभकामना व्यक्त गरे । नेपालको विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै आएको भन्दै उनले लोकतान्त्रिक शासन व्यवस्थामा यसको भूमिका र जिम्मेवारी अझै गहन तथा व्यापक हुँदै गएको बताए ।
“लोकतन्त्रका लाभहरुको वितरण आम नागरिकसम्म पुर्याई जनताको सेवा गर्न, राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामती सेवाको भूमिका महत्वपूर्ण हुन्छ । निजामती सेवाको यस्तो भूमिकामार्फत नै मुलुकको आर्थिक–सामाजिक विकास गर्न सकिन्छ र त्यसैको माध्यमबाट हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुपर्नेछ”, प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा उल्लेख छ ।
राष्ट्रको यस आकाङ्क्षा पूरा गर्न सम्पूर्ण निजामती कर्मचारीले आफ्नो क्षमता अभिवृद्धि गर्ने ज्ञान, सीप, दक्षता एवं त्यस क्षमतालाई निष्ठा र इमान्दारीपूर्वक व्यवहारमा प्रदर्शन गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ भदौ २०८१, ०७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतन्त्र समारोहमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुपर्ने पूर्वराष्ट्रपति राष्ट्रपति यादवको धारणा
प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर एमालेको आपत्ति, संसद्को मर्यादा कमजोर पारिएको आरोप