इन्टरपोलबाट रेड नोटिस जारी भएका २ जनालाई युएईबाट पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०४ जेठ २०८१, १३ : १९
इन्टरपोलबाट रेड नोटिस जारी भएका २ जनालाई युएईबाट पक्राउ

काठमाडौँ । ज्यानसम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुरमा इन्टरपोलबाट रेड नोटिस जारी भएका २ जना फरार प्रतिवादीलाई युएईमा पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका-३ का ४१ वर्षीय बलबहादुर लिम्बू र नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका-१३ का २३ वर्षीय सन्तोष न्यौपाने छन् । एनसीबी अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनीहरूलाई बिहीबार नेपाल ल्याइएको प्रहरीले बताएको छ ।

पक्राउ परेकामध्ये ज्यानसम्बन्धी कसुर मुद्दामा बलबहादुर उपर जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि इलाका प्रहरी कार्यालय लेटाङ मोरङबाट अनुरोध भएको थियो ।

यसैगरी विद्युतीय कारोबार कसूरसम्बन्धी मुद्दामा सन्तोष उपर जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएकाले लेखी पठाइएको बताइएको छ ।

बलबहादुरलाई इप्रका लेटाङ र सन्तोषलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा थप अनुसन्धान र कारबाहीका लागि बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस