सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको निवासमा माओवादी केन्द्र संसदीय दलको बैठक सुरु भएको छ । मुख्यमन्त्री शर्माले राजीनामा दिने या प्रदेश सभाबाट विश्वासको मत लिने भन्ने विषयमा निर्णय लिन दलको बैठक बोलाइएको प्रमुख सचेतक रनसिंह परियारले जानकारी दिए ।
मुख्यमन्त्रीले विश्वासको मत लिएपछि सत्ता हस्तान्तरण गर्न माओवादी तयार भए पनि एमालेले नमानेको माओवादी नेताहरू बताउँछन् । केन्द्रमा सत्ता समीकरण बदलिएपछि कर्णाली सरकारको नेतृत्व एमालेले लिने गठबन्धन दलहरूबीच सहमति भएको छ ।
तर उक्त सहमति कार्यान्वयनमा गर्न मुख्यमन्त्री शर्मा तयार छैनन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन विपरीत विश्वासको मत लिने मुख्यमन्त्री शर्माको तयारी छ ।
‘विश्वासको मत लिने कार्यसूची प्रदेश सभामा दर्ता भएको छ । प्रस्ताव संवैधानिक प्रक्रियाबाट निकास खोज्नु राम्रो हुन्छ’, प्रमुख सचेतक परियार भन्छन्, ‘विश्वासको मत लिएको केही समयपछि हामी आफैं केन्द्रीय सहमति अनुसार सत्ता हस्तान्तरणका लागि लिखित सहमति गर्न तयार छौँ । तर एमालेले मानेको छैन ।’
संवैधानिक प्रक्रिया अनुसार बुधबार नै मुख्यमन्त्री शर्माले राजीनामा दिने वा संसदबाट विश्वासको मत लिने भन्ने टुङ्गो बुधबार नै लगाउनुपर्नेछ । ‘दलको बैठकले अब के गर्ने भन्नेबारे अन्तिम निर्णय लिन्छ’, परियारले भने । संवैधानिक प्रक्रियामा गएपछि त्यसलाई रोक्न नमिल्ने माओवादी नेताहरूको तर्क छ ।
माओवादी संसदीय दलको मंगलबार बेलुका बसेको बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने निर्णय गरेको थियो । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि बुधबार दिउँसो तीन बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ चैत्र २०८०, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली योजना आयोगले पायो पूर्णता
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
कर्णालीका मुख्यमन्त्रीको दुईवटा घर, ३३ लाख बचत, ४५ लाख ऋण
कर्णालीमा कृषि उत्पादन घट्यो, दूध उत्पादनमा वृद्धि
कर्णाली सरकारको नीति तथा कार्यकम आज
कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त