राप्रपासँग एकता गर्ने सोच छैन : कमल थापा

सफल खबर संवाददाता

शुक्रबार, १६ चैत्र २०८०, १२ : ३२
राप्रपासँग एकता गर्ने सोच छैन : कमल थापा

हेटौंडा । उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एकताको सम्भावना नरहेको बताएका छन् । राप्रपा सत्ता केन्द्रित राजनीतिमा रहेको आरोप लगाउँदै थापाले आफू एकतामा नजाने बताएका हुन् ।

शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै थापाले राप्रपासँग विगतमा एकता गर्नु आफ्नो गल्ती भएको बताए । उनले फेरि राप्रपासँग एकता गरेर दोस्रो गल्ती गर्न नचाहेको उनको भनाइ छ ।

राप्रपा र राप्रपा नेपालबीच यसअघि ६ मंसिर २०७३ मा पार्टी एकता भएको थियो । पार्टी एकतापछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बन्यो भने अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणा थिए । एकता घोषणामा उनले गीता छोएर पार्टी नफुटाउने कसम खाएका थिए । पछि पार्टीको महाधिवेशनबाट राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि असन्तुष्ट बनेका थापाले पुनः राप्रपा नेपाल ब्यूँताएका थिए ।

‘राप्रपासँग एकता गर्ने सोच छैन । सम्भावना पनि छैन । अब दोस्रो गल्ती गर्न म चाहन्नँ,’ थापाले भने ।राप्रपालाई वर्तमान सत्ता गठबन्धनले सहभागी नगराउने भएकाले मात्रै सरकारमा नगएको ठोकुवा थापाले गरे । राप्रपा वर्तमान व्यवस्थामा सत्ता अवसरको चिन्तनबाट अगाडि बढेको थापाको आरोप थियो ।

राजनीतिमा सक्रिय भइ १०–१२ पटक मन्त्री हुँदा शिर ठाडो पार्ने काम गरेको थापाले जिकीर गरे आफूले मकवानपुरको विकासमा योगदान दिए पनि गलत ढंगले प्रचार गरिएको उनले गुनासो गरे ।