प्रतिनिधि सभा बैठक शुरू, प्रधानमन्त्री प्रचण्डले जवाफ दिने

सफल खबर संवाददाता

मंगलबार, ०६ चैत्र २०८०, १२ : ५१
प्रतिनिधि सभा बैठक शुरू, प्रधानमन्त्री प्रचण्डले जवाफ दिने

काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठक शुरू भएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइए पनि करिब डेढ घण्टा ढिलो गरेर साढे १२ बजे मात्र शुरू भएको हो ।

 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।यस्तै, आजै अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधि सभामा पेश गर्नेछन् । 

 

त्यसैगरी, आगामी आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल गरिनेछ कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

 प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिको निर्वाचनका लागि यही चैत ७ गते बुधवार दिउँसो ३ बजेको समय तोकिएको छ । 

उक्त निर्वाचनका लागि आज दिउँसो १ बजेदेखि ३ बजेसम्म प्रस्ताव दर्ता गर्ने कार्यसूची छ ।उक्त समितिमा रहेका कुनै सदस्यलाई सभापति चयन गरियोस् भनी अर्को कुनै एक सदस्यको समर्थनसहित प्रस्ताव दर्ता गरिनेछ । 

यसरी निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार सूची प्रकाशित गर्ने, सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने समेत कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस