एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिन्छ : झलनाथ खनाल

सफल खबर संवाददाता

बुधबार, २३ फागुन २०८०, १२ : ५९
एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) सँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताएका छन् । वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका उनले तत्कालका लागि एमालेसँग कार्यगत एकताका साथ अघि बढ्न सकिने सम्भावनाको आँकलन गरेका हुन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नेता खनालले नेताहरूमा रहेका आग्रह, पूर्वाग्रह र इगो अन्त्य गर्न सके एमालेसँगको एकीकरण गर्न कुनै गाह्रो नभएको प्रष्ट्याएका छन् ।

वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा कुरा मिल्दै गएपछि एमालेसँग एकीकरण गरेर जान कुनै समस्या नहुने उनको भनाइ छ । सम्मानित नेता खनालले कार्यगत एकताको आधारमा कम्युनिष्टहरूबीच नै एकीकरणको प्रक्रिया सुरू हुने पनि बताए ।

खनालले भने, ‘अब हामी खास अवस्थामा विद्रोह गरेर अलग पार्टी बनायौं । यी सबै घटनाक्रमहरुको बारेमा र नेकपा आफैँ एउटा बडो शक्तिशाली पार्टी १० लाख भन्दा बढी पार्टी सदस्यहरू भएको पार्टी थियो । दुई तिहाई बहुमत संघीय संसदमा थियो । देशका ६ वटा प्रदेशहरूमा हामीसँग पर्याप्त बहुमत थियो । ४५४ पालिकामा हाम्रो बर्चश्व थियो । यत्रो ठूलो पार्टी जुन ढंगले विभाजित भयो । आज हामी जुन ठाउँमा आइपुगेका छौं, यी सबै सिंहालोकनका विषयहरू हुन् । र प्रत्येक पार्टीका नेताहरुले यो छाती छामेर बिल्कुल निष्पक्षताका साथ यी चिजहरुको सिंहावलोकन गर्न जरुरी छ । म त्यो सबैलाई आह्वान गर्छु । कमजोरी सबैका भएका छन् । क-कसले कति मात्रामा कमजोरी गरे होलान् भन्ने भिन्नै कुरा हो । तर, विगतका कुराहरुको मत भिन्नतामा अल्झेर बस्नु पनि हुन्न ।’

उनले थपे, ‘एकता भनेको अंकमाल गरेर चाहीँ हुँदैन । एकता भनेको रमाइलोसँग भेटघाट लड्डु आदि इत्यादी खाएर हुँदैन । एकता भनेको वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा एकता हुनुपर्छ । त्यसो हुनाले त्यो कुरामा मिल्दै गयो भने एकता हुन्छ । अहिले चाहीँ यो कार्यगत एकता हो हेर्नुस् । कार्यगत एकता आफैंमा एउटा महत्वपूर्ण स्टेप हो । त्यो स्टेपबाट अगाडि बढदै गएपछि कम्युनिष्टहरुको बीचमा, वामपन्थी समूहहरूको बीचमा पार्टी एकीकरणका सम्भावनाहरु बढ्छन् ।’

सम्मानित नेता खनालले कम्युनिष्टहरूबीचको एकताका लागि नेकपा विभाजनका बेला नेताहरूले आ-आफ्नो ठाउँबाट गल्ती गरेको उल्लेख गर्दै कमजोरी सच्याएर अघि बढ्ने संकल्प गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।