१६ बुँदे माग राख्दै जनार्दनले मागे ‘प्रचण्ड’को राजीनामा

सफल खबर संवाददाता

मंगलबार, ३१ भदौ २०८२, १७ : १९
१६ बुँदे माग राख्दै जनार्दनले मागे ‘प्रचण्ड’को राजीनामा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा मागेका छन् ।

जेन जेड आन्दोलनले पुराना पार्टी र तिनको नेतृत्वको औचित्य नै नरहेको भन्दै पुनर्गठनको बहस चलिरहेका बेला शर्माले ‘प्रचण्ड’को राजीनामा मागेका हुन् ।

पार्टीभित्र केही समयदेखि रूपान्तरणको कुरा गर्दै आएका शर्मा जेन जेड आन्दोलनपछि नेतृत्वको औचित्य नरहेको निष्कर्षमा पुगेका हुन् ।

जेन जेड युवा आन्दोलनले सकारात्मक सन्देश दिएकाले पार्टी नेतृत्व अब परिवर्तन हुनुपर्ने उनको धारणा छ ।

यस विषयमा उनले पार्टी पङ्क्तिमा छलफल समेत चलाउन सुरु गरेका छन् ।

१. जेन जी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति, संस्कृतिमाथि प्रहार गरेकाले त्यसको सकारात्मक संश्लेषण गर्नुपर्छ ।

२. यसले दल तन्त्र, नेता तन्त्र, कमिसन तन्त्र र दलालीका सबै पाटा पक्ष उजागर गरेकाले अब देशलाई नयाँ ढंगले अगाडि बढाउने बाटो खोलेको छ ।

३. वर्तमान सरकारलाई सहयोग गर्दै निर्वाचनमा जाने वातावरण बनाउनुपर्छ ।

४. पार्टीभित्र सम्पत्ति छानबिनबारे विगतदेखि राखेको माग कार्यान्वयन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोग गठन गर्नुपर्छ ।

५. २०४६ पछि पदमा बसेका सबै क्षेत्रका निवृत्तहरूको सम्पत्ति छानबिन र जेन जी आन्दोलनमा जनधनको क्षतिबारे उच्चस्तरीय आयोग बनाउन अहिलेको सरकारसँग माग गर्नुपर्छ ।

६. पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ ।

७. नेतृत्व निर्वाचन प्रणाली प्रत्यक्ष निर्वाचितको मोडेलमा लैजानुपर्छ ।

८. कुन पदमा कुन व्यक्ति कति पटक बस्ने भन्ने ठोस र स्पष्ट नीति बनाउनुपर्छ ।

९. वर्तमान निर्वाचन प्रणाली अन्त्य गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली मार्फत संसद् निर्माण लागि राजनीतिक बहस प्रारम्भ गर्नुपर्छ ।

१०. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरालाई जोडदार रूपमा उठाउनुपर्छ ।

११. पार्टी भित्रका दलित महिलाका समस्याहरू समाधानका लागि स्पष्ट दृष्टिकोण निर्माण गर्नुपर्छ ।

१२. सांस्कृतिक बिचलन, यौन अराजकता जस्ता घटनाक्रमको छानबिन गर्नुपर्छ ।

१३. शहीद, बेपत्ता परिवार र घाइते योद्धा तथा अशक्त र वृद्ध वृद्धाहरूको संरक्षण सम्बन्धी नीति तय गर्नुपर्छ ।

१४. श्रम र आर्थिक उत्पादन सम्बन्धी पार्टीको नीति, योजना र कार्यक्रम मार्फत सबैलाई स्वरोजगार बनाउन अभियान सुरु गर्नुपर्छ ।

१५. राष्ट्रियता गम्भीर संकटमा रहेकाले राष्ट्रियताको रक्षाका लागि सतर्कतापूर्वक पार्टीपंक्तिलाई सचेत राख्नुपर्छ ।

१६. उपर्युक्त लक्ष्य पुरा गर्न सो अनुसारको संगठन बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस