झलनाथ र खड्गबहादुर विश्वकर्माबिच छलफल

सफल खबर संवाददाता

आइतबार, ०१ भदौ २०८२, १२ : ३१
झलनाथ र खड्गबहादुर विश्वकर्माबिच छलफल

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबिच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ ।

खनाल निवास डल्लुमा आइतबार भएको छलफलमा देशको पछिल्लो राजनीतिक अवस्था, कम्युनिस्ट पार्टीभित्र देखिएको समस्या र आगामी कार्यदिशाबारे छलफल भएको विश्वकर्माले जानकारी दिए । 

‘छलफलबाट हामीले तीनवटा विषयमा साझा निष्कर्ष निकालेका छौँ । पहिलो देशको स्थिति निकै जटिल अवस्थामा छ । दोस्रो नेपालका कम्युनिस्ट आन्दोलनभित्र समस्या बढेर गएको छ । श्रमिक, मजदुर, किसान वर्ग अझै कम्युनिस्टकै पक्षमा छन् । गम्भीर समस्याबाट पार लगाउन पुनर्गठन गर्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ । तेस्रो कम्युनिस्ट आन्दोलनको आगामी लाइन समाजवादी क्रान्ति नै हो । त्यसका लागि इमानदार कम्युनिस्टहरू एकताबद्ध भएर जानुपर्छ भन्नेमा साझा सहमति भएको छ’,  विश्वकर्माले भने । 

यस्तै निष्क्रिय रहेको एमसीसीमा दलालहरूको सक्रियता र अनुनय विनयमा फेरि सक्रिय बनाउन खोजिएकोप्रति गम्भीर हुँदै आगामी दिनमा त्यसविरुद्ध ठोस योजना बनाएर जानुपर्नेमा एकमत भएको उनले जिकिर गरे । 

यद्यपि दुई पार्टीबिच एकताको विषयमा कुनै छलफल नभएको उनले दाबी गरे । पार्टी एकताका लागि एकीकृत समाजवादीमा आन्तरिक जटिलता रहेको उनले स्पष्ट पारे । तर सचेततापूर्वक सबै इमानदार कम्युनिस्ट पार्टीहरू एक भएर जाने विषयमा सकारात्मक कुरा भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस