ओली–लेखकसहित एक दर्जन नेता अझै सेनाकै ब्यारेकमा, कुन–कुन नेता निस्किए ?

सफल खबर संवाददाता

मंगलबार, ३१ भदौ २०८२, ०९ : १९
ओली–लेखकसहित एक दर्जन नेता अझै सेनाकै ब्यारेकमा, कुन–कुन नेता निस्किए ?

काठमाडौं । जेन जी पुस्ताको भदौं २३ को आन्दोलनमा नरसंहार मच्चिएपछि भोलिपल्टको विद्रोह झन् विध्वंस बन्न पुग्यो । राजनीतिक दलका शीर्ष नेताहरुका घर गाडी मात्र जलाइएन, उनीहरु  असुरक्षित समेत बनेपछि सेना, प्रहरीको सुरक्षाघेराभित्र बस्न बाध्य भए ।

प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका केपी ओलीले अन्तिमसम्म विध्वंस र नरसंहार मच्चिदासम्म कुर्शी छोडन तयार भएका थिएनन । सत्ता सहयात्री दल कांग्रेसका मन्त्रीहरुले धमाधम राजीनामा दिँदा र उनलाई राजीनामा दिन आग्रह गर्दासम्म उनले एमालेका तर्फबाट मन्त्री बनेकालाई राजीनामा नदिन निर्देशन गरिरहेका थिए । अन्ततः सिंहदरवार, संसद देखि बालुवाटारसम्म प्रर्दशनकारीहरु आक्रमण गर्न जाइलाग्ने, ओली देउवा र प्रचण्डकै निवाससम्म आगलागी हुने अवस्था आएपछि गहौं मन बनाएर उनले पदबाट राजीनामा दिए । अनि सिधै बालुवाटारमै हेलिकप्टर मगाएर सुरक्षित हुन ललितपुरस्थित एक ब्यारेक पुगे । हुन त उनलाई शिवपुरी ब्यारेकमा लगेको बताइएपनि ललितपुरस्थित एक ब्यारेकमा लगेर उनी, उनको श्रीमती र बुबासम्मलाई सेनाले सुरक्षित बनाएर राखेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी त्यसबेला वहालवाला परराष्टमन्त्री डा. आरजु राणा देउवा आफ्नै निवास वुढानिलकण्ठमा आन्दोलनकारीबाट कुटिए । उनीहरुका घर समेत खरानी हुने गरी जलाइए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सिंहदरवारमा विपक्षी दलको बैठक सकेर त्यहीबाट भद्रकालीस्थित जंगी अडडमा सेनाको पहरामा बसे ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्टिय सभा अध्यक्ष नारायण दाहाल, त्यसबेलाका उपप्रधान तथा अर्थमन्त्री एवंम एमाले उपाध्यक्ष विष्णु पौडेल भैसेपाटीमा आन्दोलनकारीको मुक्का खाँदै प्रहरीको भ्यान चढेर नक्सालस्थित प्रहरी हेर्डक्वाटरमा सुरक्षित बसे ।

निर्वतमान मन्त्री सहित अन्य धेरै नेताहरुलाई शिवपुरी ब्यारेकमा लगेर राखिएको थियो । कुटाई खाएपछि कांग्रेस सभापति देउवा दम्पतीलाई पनि सेनाले दिनभर हेलिकप्टरमा सैनिक अस्पताल लैजान कोसिस गरेपनि आन्दोलनकारीले हेलिकप्टरमा ल्यान्ड हुनै नदिएपछि अन्ततः गाडीमार्फत नै छाउनी अस्पताल लगेको थियो । देउवा दम्पतीको गर्धनमा गहिरो चोट लागेका कारण अझै पनि सैनिक घेराभित्रै उपचार भईरहेको छ । उनीहरुको उपचार अझै एक सातासम्म लम्बिन सक्ने देखिएको सैनिक स्रोतको भनाई छ ।

पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, बाबुराम भटटराई लगायतका नेताहरु पनि सेनाकै सुरक्षा घेराभित्र थिए । यी सवै नेताहरुका घर जलाइएको छ । सामान्य लत्ताकपडा समेत नरहने अवस्थामा उनीहरु घरवारविहिन अवस्थामा पुगेका छन् ।

जेन जी आन्दोलनपछि सुरु भएको नयाँ राजनीतिक कोर्श, पूर्व प्रधानन्यायाधिस सुशीला कार्की अन्तरिम चुनावी सरकारको प्रधानमन्त्री, प्रतिनिधिसभा विघटन, फागुन २१ मा नयाँ चुनावको मिति घोषणा लगायतका काम भएपछि भने सेना, प्रहरीको सुरक्षा घेराभित्र रहेका नेताहरु धमाधम वाहिरिन थालेका छन् । सुरक्षा घेराभित्र ब्यारेकभित्रै बसेकामध्ये धेरै नेताहरु अहिले सेनाको सुरक्षा घेराबाट बाहिरिएका छन् । अझै केही नेताहरु भने असुरक्षा महसुस गरी सेनाको घेराभित्रै सुरक्षित रुपमा बसिरहेका छन् । यसैमध्येका एक हुन् –निर्वतमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित एक दर्जनजति नेता भने अझै ब्यारेकमै बसिरहेका छन्। ओली सरकारका गृहमन्त्री रमेश लेखक पनि ब्यारेकबाट बाहिर निस्कन सकेका छैनन । आन्दोलनकारीको प्रहरामा जुनकुनै बेला अझै पनि पर्न सक्ने ठानी यी दुई नेता भने तत्काल सेनाको ब्यारेक छोडने तरखरमा छैनन । सरकारले आफुहरुको सुरक्षासँग सम्वन्धित विषयलाई कसरी सोचिरहेको छ ? अनि के निर्णय गर्छ भनेर उनीहरु सरकारको निर्णयको पर्खाईमा बसिरहेको  सेनाको स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री विष्णु पौडेल, प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य रजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतका नेताहरु भने अझै पनि सेनाकै घेरामा बसिरहेका छन् ।

प्रचण्ड आफन्तको घरमा बसिरहेका छन् । बाबुराम पनि आफन्तकै घरमा छन् । झलनाथ खनाल घर नजिकै छिमेकीकहाँ बस्न थालेका छन् । घरबार सवै आन्दोलनकारीले जलाईदिएका कारण धेरै जसो नेताहरु अहिले कहाँ बस्ने भनेर डेराको खोजीमा लागेका छन् ।