अर्थमन्त्री खनालद्वारा आगजनीले ध्वस्त भाटभटेनी निरीक्षण

सफल खबर संवाददाता

मंगलबार, ३१ भदौ २०८२, १७ : १७
अर्थमन्त्री खनालद्वारा आगजनीले ध्वस्त भाटभटेनी निरीक्षण

काठमाडौँ। जेन जेड आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनी गरिएको भाटभटेनीमा नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले अवलोकन गरेका छन् ।

मंगलबार अर्थमन्त्री खनालले भाटभटेनी सुपरमार्केटको कोटेश्वर शाखाको अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा अर्थमन्त्री खनालले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई भेटेर सान्त्वना समेत दिएका छन् । अर्थमन्त्री खनालको उपस्थितिले संस्थालाई दृढता र हौसला मिलेको उनले बताएका थिए ।

मन्त्रीको उपस्थितिले हामीलाई अघि बढ्ने प्रेरणा दिएकाले भौतिक संरचना भत्किए पनि भाटभटेनीको आत्मा कहिल्यै टुट्दैन उनले बताएका थिए । कम्पनीले विपत्तिका बिच पनि अझ सबल भएर पुनः निर्माण गर्ने र जनताको सेवामा निरन्तर प्रतिबद्ध रहने प्रतिबद्धता जनाएको छ।

जेन जेड आन्दोलनका क्रममा देशभर रहेका विभिन्न भाटभटेनीमा तोडफोड, लुटपाट तथा आगजनी गरिएको थियो । आगजनीबाट जोगिएका शाखाहरू पुनः सञ्चालनमा आइसकेका छन् ।

भाटभटेनी केवल पसल मात्र नभएर परिवार समेत रहेकोले अब पुनः उही विश्वास, माया र प्रतिबद्धतासहित सेवा दिन तयार रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस