सर्वोत्तम सिमेन्टको आईपीओ आजदेखि बिक्री खुला

सफल खबर संवाददाता

बुधबार, २५ पुस २०८०, ११ : ३४
सर्वोत्तम सिमेन्टको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले आजदेखि उद्योग प्रभावित स्थानीय तथा खानी उत्खनन् प्रभावित क्षेत्रका स्थानीयसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री खुला गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीयमा ९ लाख ३० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा २ लाख ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । 

उद्योग प्रभावित क्षेत्रका स्थानीयमा जारी भएको आईपीओ नवरपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं. १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं. ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं. ७ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।

स कम्पनीले नेपालमा पहिलो पटक बुक विल्डिङ विधिबाट आईपीओ जारी गरेको हो । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि प्रतिकित्ता ४०१ रूपैयाँमा आईपीओ विक्री गरेको कम्पनीले दोस्रो चरणको आईपीओको मूल्य भने प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा तोकिएको छ । 

संस्थागत लगानीकर्तामा विक्री भएको मूल्यभन्दा १० प्रतिशत कम मूल्यमा दोस्रो चरणको आईपीओ विक्रीमा ल्याइएको हो । उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आईपीओ खरीदका लागि न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । 

उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि छिटोमा माघ १० गतेसम्म यो आईपीओ विक्री मिति तोकिएको छ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा माघ २५ गतेसम्म विक्री लम्बिनेछ ।  वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने माघ १० गतेसम्म मात्र आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले समयमानै वित्तीय दायित्व बहन गर्न सक्ने क्षमतामा मध्यम स्तरको क्षमता रहेको कम्पनी रहेको बुझिन्छ । कम्पनीको आईपीओ निष्कासत तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूले नवलपरासी जिल्लाको ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले पाल्पा जिल्लाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजागारीमा रहेका नेपालीले भने आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयसँगै मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सक्नेछन् ।

यस कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आएको छ । नवलपरासी जिल्ला, सुनवल नगरपालिका वडा नं. ११, जोडेनीमा कम्पनीले सञ्चालन गरिरहेको उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ । उद्योगले डेनमार्कको भीआरएम प्रविधि प्रयोग गरिरहेको छ। 

प्रतिक्रिया दिनुहोस