देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

सफल खबर संवाददाता

बुधबार, ११ पुस २०८०, १२ : १०
देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

काठमाडौँ । काठमाडौँसहित विभिन्न स्थानबाट ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरीकाअनुसार गोकर्णेश्‍वर नगरपालिका-२ पाखाथोकस्थित आफ्नै जस्ताको टहरामा ३० वर्षीया सम्झना सापकोटा गएराति मृत अवस्थामा फेला परेकी छन् । 

यसैगरी महानगरपालिका-१२ टेकुस्थित फोहोर मैलाको पुलमुनि अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।  यस्तै संखुवासभाको भोटखोला गाउँपालिका-४ सिब्रुङ बस्ने ढक बहादुर तामाङकी छोरी १५ वर्षीया रितुमाया तामाङ सोही ठाउँस्थित छिलिम भिरमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । गत बुधबार दिउँसोदेखि घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । 

यसैबीच बर्दियाको बारबर्दिया नगरपालिका-१० स्थित तुलानाथ सामुदायिक वनमा अन्दाजी ५५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । उनको सनाखत भइसकेको छैन । 

यस सम्बन्धमा  आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस