खुर्कोट (सिन्धुली) । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकारबाहेक अरूले देश विकास गर्न नसक्ने बताएका छन् । ओलीले एमालेले राष्ट्र निर्माणका लागि बृहत्तर योजना बनाउन संकल्पयात्रा सुरु गरेको दाबी गरे ।
झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा खुर्कोटमा मङ्गलवार भएको जन संवाद कार्यक्रममा उनले अरु पार्टीको सरकारले देश विनास गर्ने भएकाले जनताले एमालेको सरकार चाहेको बताए । उनले एमालेकै नेतृत्वमा राष्ट्रको समृद्धि हुने ठोकुवा गरे ।
‘आज सङ्कल्प यात्राको १३ दिन हो’, उनले भने, ‘यात्राको क्रममा हामीले विभिन्न क्षेत्रका विषयमा मागपत्र, ज्ञापन पत्र र ध्यानाकर्षण पत्र बुझ्दै आएका छौँ । त्यसलाई अध्ययन गरी त्यस ठाउँको विकास र राष्ट्र निर्माणका लागि बृहत्तर योजना बनाउन स्थलगत रूपमा अध्ययन गरेका छौँ । बृहत्तर योजनाहरू बनाइरहेका छौँ ।’
अध्यक्ष ओलीले त्यसै सन्दर्भमा जनतासँग भेटघाट र सम्बन्ध बढाउँदै, मागहरू सुन्दै र आफ्ना भनाइहरू राख्दै खुर्कोट आइपुगेको बताए । जनताबाट गरिबी हटाउने, देशमा समृद्धि ल्याउने र जनतालाई शान्तिपूर्ण, सुखमय, समतामूलक समाज निर्माणमा प्रेरित गर्ने काम एमालेले गरिरहेको उनको भनाइ थियो ।
सिन्धुली जिल्ला प्रवेश गर्दा उत्साहपूर्ण स्वागत, सम्मान र मायाप्राप्त गरेको चर्चा गर्दै उनले त्यसले सङ्कल्प यात्रामा हिँडेको टोलीको मनोबल उच्च बनाउन योगदान पुगेको सुनाए । एमाले अध्यक्ष ओलीले खुर्कोटमा सिन्धुलीका पत्रकार शेषराज दाहालले लेखेको चुच्चे नक्साको पुस्तक विमोचन गरेका थिए । स्थानीयले उनलाई चियाबारी-खुर्कोट सुरुङमार्ग निर्माणका लागि मागपत्र बुझाएका थिए ।
कार्यक्रममा कलाघर सिन्धुलीले प्रस्तुति गरेको खैँजडी भजनमा एमाले अध्यक्ष ओली पनि सँगै नाचेका थिए । यात्राको क्रममा टोलीले सिन्धुलीको गोलन्जोर गाउँपालिकाको ग्वाल्टारमा पुगेर सहिद बाबुराम बरालको सालिकमा माल्यार्पण र स्थानीयसँग भेटघाट गरेको छ ।
नेकपा स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा पार्टीले संस्थापक नेताको स्मृतिमा निर्माण भएको पुष्पलाल मध्यपहाडी राजमार्गमा १९ दिने समृद्धि यात्रा सुरु गरेको हो । यात्रामा पार्टीको अरु पदाधिकारी पनि सामेल छन् । २०७७ फागुन २० गते तत्कालीन प्रधानमन्त्री ओलीले शिलान्यास गरेको सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगतिबारे समेत उनले जानकारी लिएका थिए । आयोजना प्रमुख मित्र बरालले साढे १० किलोमिटर सुरुङ सम्पन्न भएको पूर्वप्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ मंसिर २०८०, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना