महिला टी-२० विश्वकप: दक्षिण अफ्रिकाद्वारा भारत ६ विकेटले पराजित

सफल खबर संवाददाता

सोमबार, ०८ असार २०८३, ०८ : ५७
महिला टी-२० विश्वकप: दक्षिण अफ्रिकाद्वारा भारत ६ विकेटले पराजित

एजेन्सी । महिला टी-२० विश्वकप २०२६ अन्तर्गत आइतबार म्यानचेस्टरमा भएको रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले भारतलाई ६ विकेटले पराजित गरेको छ। जारी विश्वकपमा भारतीय टोलीले व्यहोर्नुपरेको यो पहिलो हार हो।

टस जितेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५८ रनको योगफल तयार पारेको थियो। भारतका लागि प्रारम्भिक ब्याट्सम्यान शेफाली वर्माले १५ बलमा विष्फोटक ३१ रन जोडिन् भने स्मृति मन्धानाले १२ बलमा १७ रन बनाइन्। 

भारतले पावरप्लेको सदुपयोग गर्दै सुरुवाती ६ ओभरमा ५९ रन जोडेको थियो। तर, मध्यक्रमका ब्याट्सम्यानहरूले सोचे अनुरूप प्रदर्शन गर्न नसक्दा टोलीले ठूलो स्कोर खडा गर्न सकेन।

१५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९.१ ओभरमा ४ विकेट गुमाउँदै जित हासिल गर्‍यो। दक्षिण अफ्रिकाको जितमा मारिजान कापले अविजित ८१ रनको उत्कृष्ट इनिङ खेलिन्। उनले ४५ बलको सामना गर्दै टोलीलाई कठिन अवस्थाबाट जितसम्म पुर्‍याएकी हुन्। ब्याटिङमा चम्किएकी कापले बलिङमा पनि २ विकेट लिएकी थिइन्, जसका कारण उनलाई 'प्लेयर अफ द म्याच' घोषित गरियो।

यो हारका बावजुद भारत अंक तालिकामा दुई जित र चार अंकसहित दोस्रो स्थानमा कायम छ। भारतले अब आफ्नो अर्को खेल जुन २५ मा बंगलादेशसँग खेल्नेछ। यदि उक्त खेलमा भारत विजयी भएमा ६ अंकका साथ सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ।

प्रतिक्रिया दिनुहोस