फिफा विश्वकप २०२६

इराकमाथि सहज जित निकाल्दै फ्रान्स नकआउट चरणमा प्रवेश

एजेन्सी

मंगलबार, ०९ असार २०८३, ०७ : ०१
इराकमाथि सहज जित निकाल्दै फ्रान्स नकआउट चरणमा प्रवेश

काठमाडौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'आई' को खेलमा फ्रान्सले इराकलाई ३–० को फराकिलो अन्तरले पराजित गरेको छ। 

फिलाडेल्फिया स्टेडियममा मंगलबार बिहान सम्पन्न लमा जित हात पारेसँगै फ्रान्स लगातार दोस्रो जित दर्ता गर्दै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्ने निश्चित भएको छ।

फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले दुई गोल गरे भने ओसमान डेम्बेलेले एक गोल थपे। आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल खेलेका एम्बाप्पेले खेलको १४औं मिनेटमा माइकल ओलिसेको पासमा एक सानदार गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा थप आक्रामक खेल प्रदर्शन गर्‍यो।

खेलको दौरान खराब मौसमका कारण करिब दुई घण्टा खेल रोकिएको थियो। तर, खेल पुनः सुरु भएपछि फ्रान्सले आफ्नो लय गुमाएन। ५४औं मिनेटमा डेम्बेलेको पासमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसको केही मिनेटपछि नै ६६औं मिनेटमा ओसमान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई ३–० को स्थितिमा पुर्‍याए। कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा डेम्बेलेको यो पहिलो गोल हो, जसलाई लिएर फ्रान्सेली टोली र समर्थकहरू निकै उत्साहित देखिएका थिए।

६८,३२४ दर्शकमाझ खेलिएको यस खेलमा इराकले केही राम्रा अवसरहरू सिर्जना गरे पनि गोल गर्न भने सकेन। ७७औं मिनेटमा इराकका अली अल हमादीले गोल गर्ने सुवर्ण मौका गुमाएका थिए। इराकका डिफेन्डरहरूले फ्रान्सेली आक्रमणलाई रोक्न निकै संघर्ष गरे पनि एम्बाप्पेको गति र फ्रान्सको बलियो मिडफिल्डसामु उनीहरूको केही लागेन।

यसअघि आफ्नो पहिलो खेलमा सेनेगललाई पराजित गरेको फ्रान्स ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। अर्कोतर्फ, पहिलो खेलमा नर्वेसँग पराजित भएको इराकका लागि भने यो हारले अघिल्लो चरणको यात्रा कठिन बनाएको छ।