चितवन । चितवन जिल्लालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत उद्धार तथा व्यवस्थापन कार्यलाई तीव्रता दिइएको छ। जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवन तथा मानव सेवा आश्रमको संयुक्त पहलमा सडकपेटी, सार्वजनिक स्थल तथा खुला आकाशमुनि कष्टकर जीवन बिताइरहेका व्यक्तिहरूको उद्धार अभियान निरन्तर सञ्चालन भइरहेको छ।
मानव सेवा आश्रम चितवनको टोली, जिल्ला प्रहरी प्रमुख (एसपी) र प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहितको समन्वयमा मध्यरातसम्म सक्रिय रही सडकमा बेसहारा अवस्थामा रहेका व्यक्तिहरूको खोजी तथा उद्धार गर्दै आएको छ।
यसै क्रममा हिजो राति सञ्चालन गरिएको विशेष उद्धार अभियानबाट २२ जना सहयोगापेक्षी तथा सडक आश्रित व्यक्तिहरूको उद्धार गरिएको आश्रमले जनाएको छ। उद्धार गरिएका व्यक्तिहरूमध्ये अधिकांश परिवारको साथ र संरक्षणबाट वञ्चित भई लामो समयदेखि सडकपेटीमा कठिन जीवन बिताइरहेका थिए।
मानव सेवा आश्रम चितवनका अनुसार उद्धार गरिएका व्यक्तिहरूलाई आश्रममा ल्याई आवास, भोजन, स्वास्थ्य उपचार तथा पारिवारिक पुनर्मिलनका लागि आवश्यक पहल गरिनेछ।
चितवनलाई पूर्ण रूपमा सहयोगापेक्षी सडक आश्रित मानवमुक्त जिल्ला आज घोषणा गरिदै छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ जेठ २०८३, १२ : ०३
लेखकबाट थप