साउदी अरेबियामाथि स्पेनको चार गोल

सफल खबर संवाददाता

सोमबार, ०८ असार २०८३, ०६ : ४४
साउदी अरेबियामाथि स्पेनको चार गोल

एटलान्टा । युवा स्टार लामिने यामाल र मिकेल ओयार्साबालको उत्कृष्ट प्रदर्शनको मद्दतले स्पेनले विश्वकप फुटबलको समूह ‘एच’ अन्तर्गतको खेलमा साउदी अरेबियामाथि ४-० को सहज र सानदार जित दर्ता गरेको छ। पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको लुइस डे ला फुएन्टेको टोलीले यो जितसँगै लय समातेको छ।

आइतबार राति भएको खेलमा स्पेनका लागि खेलको १० औं मिनेटमै यामालले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो खेलमा केप भर्डसँग गोलरहित बराबरी खेल्दा आलोचित बनेका स्ट्राइकर ओयार्साबालले पहिलो हाफमै दुई गोल थपेपछि स्पेनले हाफ–टाइमअघि नै ३-० को बलियो अग्रता बनाएको थियो। दोस्रो हाफको सुरुमै साउदीका डिफेन्डरबाट आत्मघाती गोल भएपछि स्पेनको जित ४-० ले सुनिश्चित भयो।

मुख्य प्रशिक्षक डे ला फुएन्टेले आफ्नो ६५ औं जन्मदिन मनाइरहँदा टोलीले उनलाई उत्कृष्ट जितको उपहार दिएको छ। चोट र बेन्चको लामो समयपछि मैदान फर्किएका यामालले खेल अवधिभर साउदीका डिफेन्डरलाई व्यस्त राखेका थिए। खेलको १० औं मिनेटमा ओयार्साबालको पासलाई सदुपयोग गर्दै यामालले ब्याक पोस्टबाट गोल गरी आफ्नो विश्वकप करियरकै पहिलो गोल दर्ता गरे।

त्यसपछि आक्रामक बनेको स्पेनका लागि ओयार्साबालले खेलको दोस्रो र तेस्रो गोल गरे। ड्यानी ओल्मो र एम्रिक लापोर्टको समन्वयमा आएको बललाई ओयार्साबालले पोष्टको दिशा दिएका थिए भने त्यसको तीन मिनेट नबित्दै पेड्रो पोरो र मार्क कुकुरेलाको सुन्दर पासमा उनले व्यक्तिगत दोस्रो गोल थपे।

दोस्रो हाफमा स्पेनले आफ्ना मुख्य खेलाडीहरूलाई आराम दिएको थियो। खेलको ४८ औं मिनेटमा साउदीका डिफेन्डर हसन अल-ताम्बाक्तीको आत्मघाती गोलका कारण स्पेनले ४-० को अग्रता लियो र सोही नतिजा अन्तिमसम्म कायम रह्यो।

प्रतिक्रिया दिनुहोस