युवा संघ र दुर्गा प्रसाईं समूहको प्रदर्शन आज, एकीकृत सुरक्षा योजना लागु

सफल खबर संवाददाता

विहीबार, ०७ मंसिर २०८०, ०७ : ०६
युवा संघ र दुर्गा प्रसाईं समूहको प्रदर्शन आज, एकीकृत सुरक्षा योजना लागु

काठमाडौँ । काठमाडौँमा आज दुईवटा छुट्टाछुट्टै समूहले विरोध प्रदर्शन गर्दै छन् । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन् । 

बल्खुमा  प्रसाईं नेतृत्वको महाअभियानले प्रदर्शन गर्नेछ भने नेकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ । बल्खु र तीनकुनेमा  हुने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ ।

प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।

प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ । ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन् ।

प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागबाट सूचना सङ्कलनका लागि ३५१ जना सुरक्षाकर्मी परिचालन गरेको छ । एकीकृत सुरक्षा योजना अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट २ सय जना सादा पोसाकका प्रहरी प्रदर्शनस्थलमा परिचालित हुनेछन् ।

प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ । डीआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर बनाइएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले  बताए । कमाण्ड सेन्टरमा सशस्त्र प्रहरी बलका एसएसपी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक प्रदेश सिंह हमाल र नेपाली सेनाका कर्णेल सहितको ‘संयुक्त टिम’ गठन गरिएको छ ।

प्रदर्शन स्थलमा सुरक्षा व्यवस्थापनको नेतृत्व काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले गर्दैछन् । बल्खु र तीनकुनेमा हुने प्रदर्शनमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिने काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताए ।

प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने भएको छ । तीनकुनेमा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएकाले ड्रोन प्रयोग गर्न असम्भव भएको काठमाडौँ एसएसपी भूपेन्द्र खत्रीले बताए । 

काठमाडौँ प्रहरीलाई प्रहरी प्रधान कार्यालयले सुरक्षा निगरानीका लागि थप दुई वटा ड्रोन उपलब्ध गराएको छ । प्रदर्शन स्थलमा २ थान ज्यामर भेहिकल प्रयोग गर्ने सुरक्षा निकायको तयारी छ ।

प्रतिक्रिया दिनुहोस