बढी नेपाली भएका देशमा दूतावास खोल्दै सरकार

सफल खबर संवाददाता

सोमबार, १३ कार्तिक २०८०, १२ : ०९
बढी नेपाली भएका देशमा दूतावास खोल्दै सरकार

काठमाडौँ । बढी नेपालीहरू भएका देशमा नेपाली कूटनीतिक नियोग स्थापना गर्ने प्रकृया अघि बढेको छ । १० हजारभन्दा बढी नेपाली भएका मुलुकहरूमा नेपाली राजदूतावास खोल्ने गरी सरकारले प्रकृया अगाडि बढाएको हो ।

गत भदौ २५ र २६ गते काठमाडौँमा ‘श्रम आप्रवासनका सवालहरू र कूटनीतिक नियोगको भूमिका’ विषयमा प्रधानमन्त्रीसहितको बैठक बसेको थियो । उक्त बैठकले बढी नेपाली भएका देशहरूमा समेत कुटनीतिक नियोग स्थापना गर्ने निर्णय गरेको थियो ।

सोही आधारमा प्रकृया अगाडि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बताए । सरकारले पोर्चुगल, रोमानिया, माल्टा, साईप्रस, क्रोएशिया, माल्दिभ्स, पोल्याण्ड, टर्की लगायतका मुलुकमा कूटनीतिक नियोग स्थापना गर्ने प्रकृया अघि बढेको हो ।

सरकारले ती देशहरूमा दूतावास नै स्थापना गर्ने तथा ड्राई पोष्टिङको प्रकृया गर्ने भएको हो ।  ड्राई पोष्टिङमा खटिएका कर्मचारीले परिवार बाहेकको मात्र सुविधा पाउनेछन्। त्यसरी नेपाली कूटनीतिक नियोग स्थापना गर्ने प्रकृया अघि बढेको मन्त्री भण्डारीको भनाई छ ।

 

ती देशहरूमा १ जना परराष्ट्र सेवाको उपसचिव स्तरको कर्मचारी, १ जना श्रम सहचारी र १ जना स्थानीय कर्मचारी गरेर तीन जनाको दरबन्दी रहनेछ । त्यसका लागि परराष्ट्र मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्भेको प्रकृया अगाडि बढाएको छ ।

उक्त प्रकृया पुरा गरेर मन्त्रिपरिषद्मा निर्णयको लागि प्रस्ताव पेश गर्नेछ । उक्त कार्यको लागि अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलेले समेत सहजीकरण गर्नेछन् ।

त्यस्तै जापान, जर्मनी, अष्ट्रिया, इजरायल तथा दक्षिण कोरियामा श्रम काउन्सिलर र श्रम सहचारीको दरबन्दी सिर्जनाको प्रकृया अघि बढेको छ । श्रम मन्त्रालयले परराष्ट्रको समन्वयमा प्रस्ताव तयार पारेर निर्णयका लागि मन्त्रिपरिषदमा पेश गर्न लागिएको मन्त्री भण्डारीले बताए । 

प्रतिक्रिया दिनुहोस