आफ्नो राहदानी सुरक्षित राख्न यूएईमा रहेका नेपालीलाई दूतावासले अनुरोध

सफल खबर संवाददाता

मंगलबार, २६ फागुन २०८२, १९ : ०९
आफ्नो राहदानी सुरक्षित राख्न यूएईमा रहेका नेपालीलाई दूतावासले अनुरोध

काठमाडौँ ।युनाइटेड अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई आफ्ना महत्त्वपूर्ण कागजातहरू सुरक्षित राख्न अनुरोध गरेको छ ।

अबुधाबीस्थित नेपाली दूतावासले मंगलबार एक सूचना जारी गर्दै त्यहाँ रहेका करिब सात लाख नेपालीलाई उक्त अनुरोध गरेको हो ।

“यूएईमा बसोबास तथा कार्यरत सम्पूर्ण नेपालीहरूलाई समयमै आफ्नो राहदानीको बहाल अवधि चेक गर्नुहुन र आफ्ना महत्त्वपूर्ण कागजातहरू जस्तै आफ्नो राहदानी, नागरिकता तथा इमिरेट्स आइडीको डिजिटल कपी सुरक्षित राख्नुहुन अनुरोध छ,” दूतावासले सूचनामा भनेको छ ।

आफ्नो राहदानीको म्याद सकिएको भए वा तुरुन्त सकिन लाग्दै छ भने यथाशीघ्र राहदानी नवीकरणको लागि अबुधाबीस्थित नेपाली दूतावास र दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा आवेदन दिन अनुरोध समेत गरिएको छ ।

“कुनै पनि सेवाको लागि दूतावास तथा कन्सुलेट कार्यालयहरू आउँदा आफ्नो र आफू बसेको ठाउँको सुरक्षा स्थिति मध्यनजर गरी, स्थानीय सूचना तथा सुरक्षा मापदण्डहरू पालना गरेर मात्र सोहीअनुसार, दूतावास तथा कन्सुलेट कार्यालय आउन अनुरोध छ,” सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस