पानीमा रुझ्दै लाखे नाच हेर्न गगन थापा मैतीदेवी मन्दिर पुगे

सफल खबर संवाददाता

मंगलबार, ०५ भदौ २०८०, १२ : १३
पानीमा रुझ्दै लाखे नाच हेर्न गगन थापा मैतीदेवी मन्दिर पुगे

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा मैतीदेवी मन्दिरबाट निकालिएको लाखे नाच हेर्न पुगेका छन् । मैतीदेवी युनाइटेड क्लबको आयोजनामा मैतीदेवी मन्दिरबाट निकालिएको १६ दिनसम्म चल्ने यो नाच हेर्न महामन्त्री थापा झरीमा रुझ्दै मैतीदेवी मन्दिरमा पुगेर स्थानीय संस्कृतिप्रेमी, स्थानीय संस्कृति बचाउ अभियानका अभियन्ताहरुलाई हौस्याइरहेका देखिन्थे । 

नागपञ्चमीका दिन दिनभर पानी परेपछि गगन अपराह्न्नतिर मन्दिरमा पुगेर लाखे नाचमा सहभागी भएको मैतीदेवी युनाइटेड क्लबका संस्थापक अध्यक्ष राम खड्गीले जानकारी दिए । सडकदेखि सदनसम्म आफ्नो बाक्लो उपस्थिति जनाउन रुचाउने युवा नेता गगनले स्थानीयको एक वचनका आधारमा आफ्नो उपस्थिती जनाएका हुन् । 

सोमबारदेखि सुरु भएको मैतीदेवीको लाखे नाच १६ दिनसम्म चल्नेछ ।  सदिऔँदेखि चल्दै आएको मैतीदेवीको यो लाखे नाच विभिन्न कारणले ३ दशकदेखि रोकिएर यसवर्षबाट सञ्चालनमा आएको स्थानीय बासिन्दाहरु बताउँछन् । 

यसअघि यो परम्परा जोगाउने नाच संचालन गर्दै आएका स्थानीयहरु बसाइँ सरेर गएका कारण, आर्थिक हिसाबले पनि खर्चिलो भएका कारण ३ दशकदेखि रोकिएको यो परम्परालाई निरन्तरता दिने चेष्टामा मैतीदेवी युनाइटेड क्लबको जुझारु टिम लागिपरिरहेको छ । जसका कारण लाखे नाचको पहिलो दिन मुकुटको पूजा अर्चना गरि लामो समयदेखि स्थगित लाखे नाचलाई निरन्तरता दिने काम सुरु गरिएको स्थानीय तथा संस्कृतिविद्ध कृष्ण निरब शाही बताउँछन् । लामो समयदेखि स्थानीय संस्कृति बचाउ अभियानमा सक्रिय रहेका शाहीका अनुसार लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुकुट पहिरिएर गरिने परम्परागत नृत्य हो । 

नेवार समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छन् । प्राय नाच देवीदेवताका हुन्छन् । यीमध्ये लाखे नाच धेरै रोचक हुन्छ । राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ । उपत्यकामा लाखे नाच नचाउने प्रचलन कहिलेदेखि सुरुआत भयो भन्ने कुरामा बिभिन्न मतभेद रहेको छ । 

कसैले राजा हरिसिंहदेवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको हो भनिन्छ । कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा ल्याएका हुन भन्ने तर्क पनि राख्दछन । नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गराएका हुन् भन्ने भनाइ पनि छ । तर, राजा प्रताप मल्लका पालादेखि मुकुट लगाई लाखे नाच नाच्ने गरेको पाइन्छ । लाखे नाचको ठाउँ अनुसार आ आफ्नै मूल्य र मान्यता भएता पनि मैतीदेवीको लाखेको कथा अन्य स्थानको भन्दा भिन्न छ । अन्य स्थानमा लाखे नाच प्रेमसँग सम्बन्धित् हुँदा मैतीदेवीको लाखेलाई धोबी खोलामा झुक्याएर लगेर कृष्ण अष्टमीका दिन वध गरिएको हो भन्ने किंवदन्ती छ । खासमा लाखेले स्थानीयलाई अनाहकमा दिएको दुःखपछि लाखेलाई वध गर्नुपर्नेसम्मको अवस्थामा स्थानीयहरु पुग्न बाध्य हुन्छन् । र पछि सोही सम्झनामा नागपंचमीको दिनदेखि कृष्णअष्टमीको दिनसम्म लाखे नाच नाच्ने परम्परा रही आएको हो ।

प्रतिक्रिया दिनुहोस