लम्पी स्किन रोगले खोटाङमा ७३६ गाईगोरु मरे

सफल खबर संवाददाता

शनिबार, २० साउन २०८०, ०८ : १३
लम्पी स्किन रोगले खोटाङमा ७३६ गाईगोरु मरे

काठमाडौ । देशभर महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगले खोटाङमा ७३६ वटा गाईगोरु मरिसकेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५५, हलेसी तुवाचुङ नगरपालिकामा २६, खोटेहाङ गाउँपालिकामा ४०, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा २७२, केपिलासगढी गाउँपालिकामा ४५, ऐसेलुखर्क गाउँपालिकामा ५२, बराहपोखरी गाउँपालिकामा ७६, जन्तेढुंगा गाउँपालिकामा २१, रावाबेंसी गाउँपालिकामा ८४ र साकेला गाउँपालिकामा ६५ वटा पशु चौपाया लम्पी स्किन रोगले मरेका पाइएको हो । 

कृषकले पालेका पशुचौपायामा गत चैत पहिलो हप्ता लम्पी स्किन रोगको लक्षण भेटिएको जिल्लामा ४३१ वटा गाईगोरुमा रोगको प्रकोप देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय खोटाङले दिएको विवरणमा उल्लेख छ । १० स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय भैंसीमा समेत लम्पी स्किन रोगको लक्षण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय खोटाङका सम्पर्क अधिकृत चन्द्रकिशोर यादवले जानकारी दिए ।

पछिल्लो १ हप्ताको अवधिमा १४ वटा भैंसीमा लम्पी स्किन रोगको प्रकोप देखिएको जिल्लामा एउटाको मृत्यु भएको जनाइएको छ । पशु विशेषज्ञहरूका अनुसार गाईगोरुमा १०५ डिग्रीसम्मको ज्वरो आउनु, शरीरको विभिन्न ठाउँमा फोकाहरू आउनु, मुखबाट र्‍याल काढ्नु, सिगाँन बग्नु, २/४ दिनपछि फोका फुटेर रगत आउनु, खुट्टा सुन्निनु, घाँटी सुन्निनु लम्पी स्किन रोगका लक्षणहरू हुन् । 

मुख्यगरी खेतबारी जोत्न र प्राङ्गारिक मल उत्पादनका लागि जिल्लाका किसानले पालेका गाई/गोरुमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणमा कसैको ध्यान नपुगेको जिल्लावासीको आरोप छ । महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगका कारण जिल्लाका कतिपय कृषकको गोठ नै रित्तिएको पाइएको छ । लम्पी स्किन रोग विरुद्धको खोप र औषधि किन्न उद्योग, कृषि तथा सहकारी मन्त्रालयले गत असार २४ गते प्रत्येक स्थानीय तहलाई १ लाख रुपैयाँका दरले बजेट उपलब्ध गराएको थियो ।