लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा

रासस

आइतबार, २२ असार २०८२, १७ : ११
लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा

ताप्लेजुङ । ताप्लेजुङका ६ स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार जिल्लाका नौ मध्ये ६ वटा स्थानीय तहका पशु चौपायामा सङ्क्रमण देखिएको हो ।

केन्द्रका प्रमुख डा. रोशन दाहालका अनुसार हालसम्म ३४ पशु बस्तुमा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण सिदिङ्वा गाउँपालिकाका– २, मेरिङदेनका १०, सिरिजंगाका ५, फक्ताङलुङका दुई, फुङलिङ नगरपालिकाका ७ र आठराई त्रिवेणी गाउँपालिकाका आठ पशु बस्तुमा देखिएको छ ।

सुरुमा फुङलिङ नगरपालिका-१० फुरुम्बु र वडा नं ७ तथा ८ दोखुमा देखिएको थियो । लक्षण देखिएपछि पशु पालकको सूचनाका आधारमा नमूना संकलन गरी परीक्षणका लागि पठाइएको थियो । जिल्लाको मिक्वाखोला, पाथीभरा याङवरक र मैवाखोला गाउँपालिकामा भने हालसम्म सङ्क्रमण नदेखिएको जनाएको छ ।

सङ्क्रमण पुष्टि भएपछि सम्बन्धित स्थानीय तह, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र अन्य सम्बन्धित निकायले सङ्क्रमण नियन्त्रणका लागि रोकथाम उपाय अपनाएका छन् । हालसम्म चार हजार सात सय ५० डोज लम्पी स्किनविरुद्धको खोप वितरण भइसकेको बताइएको छ ।

सङ्क्रमण फैलिन नदिनको लागि पशु पालकलाई सतर्क रहन र पशुमा लक्षण देखिएमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस