चितवनमा लम्पी स्किनबाट ३० वटा गाईगोरु मरे

रासस

सोमबार, २६ साउन २०८२, १३ : ५३
चितवनमा लम्पी स्किनबाट ३० वटा गाईगोरु मरे

चितवन । पशु चौपायमा लाग्ने रोग लम्पी स्किनबाट जिल्लामा ३० वटा गाईगोरु मरेका छन् । पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यस रोगका कारण हालसम्म ३० गाईगोरु मरेका हुन् ।

कार्यालयकी सूचना अधिकारी डा सविना मिश्रका अनुसार अहिलेसम्म जिल्लाका ७९३ वटा गाईगोरु, भैँसीमा यो रोगको सङ्क्रमण देखिएको छ । जसमध्ये भैँसी–राँगा चार र गाईगोरु ७९३ वटा रहेका छन् । लम्पी स्किनबाट हालसम्म खैरहनी नगरपालिका बढी प्रभावित भएको उनले जानकारी दिइन् ।

उनका अनुसार सो पालिकामा हालसम्म ४२५ वटा पशु चौपाया प्रभावित भएका छन्भने २२ वटा मरेका छन् । रत्ननगरमा १९१ वटा पशु चौपाया प्रभावित भएका छन् । जहाँ ४ वटा गाई गोरु मरेका छन् । यस्तै राप्ती नगरपालिकामा ७५, भरतपुर महानगरपालिकामा ६२, माडी नगरपालिकामा २७ र कालिका नगरपालिकामा १३ वटा पशु चौपाया सङ्क्रमित भएका छन् । भरतपुर महानगरपालिकामा चारवटा पशु चौपाया मरेको उनले जानकारी दिइन् । उनका अनुसार रत्ननगरमा तीन र राप्तीमा एउटा  भैँसी–राँगा प्रभावित भएका छन् ।

जिल्लामा लम्पी स्किन देखिन थालेपछि खोप लगाउने किसानको सङ्ख्या बढेको छ । हालसम्म ५९ हजार ९७४ वटा पशु चौपायालाई लम्पी स्किन विरुद्धको खोप दिई सकिएको उनले जानकारी दिइन् । गर्मीयाममा लामखुट्टे, झिँगालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको मिश्रले बताइन् ।

गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओँठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखापर्दछन् ।

सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने मिश्रले बताइन् ।  

प्रतिक्रिया दिनुहोस