कक्षा ११ मा भरतपुरका २९ वटा क्याम्पसमा २८३ विद्यार्थीलाई महानगरको छात्रवृत्ति

सफल खबर संवाददाता

मंगलबार, ०९ साउन २०८०, १६ : २४
कक्षा ११ मा भरतपुरका २९ वटा क्याम्पसमा २८३ विद्यार्थीलाई महानगरको छात्रवृत्ति

चितवन। भरतपुर महानगरपालिकाले शैक्षिक सत्र २०८०\०८१ मा कक्षा ११ अध्ययन गर्ने २८३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।अनलाइन आवेदनको आधारमा ८१९ विद्यार्थीबाट २८३ जना छनोट गरी सो छात्रवृत्ति प्रदान गर्न लागेको हो ।

महानगरपालिकाभित्र सञ्चालित क्याम्पसहरुमा अध्ययन गर्न छात्रवृत्ति नतिजा प्रकाशन गरिएको महानगरले जनाएको छ । शैक्षिक सत्र २०८०\०८१ का लागि छात्रवृत्ति आवेदन दिएका ८१९ जना मध्ये २८३ जना छनौट गरिएको भरतपुर महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले बताए । जसमध्ये विज्ञान संकायमा १५३ जना र अन्यमा १३० जनाले छात्रवृत्ति पाएका छन् ।

भरतपुरका २९ वटा कलेजहहरुमा छात्रावृत्ति पाएका विद्यार्थीहरुले शतप्रतिशत निःशुल्क अध्ययन गर्न पाउने छन् । जसमध्ये अरोमा कलेजमा ३९ जना, अर्किड कलेजमा ३१ जना, वाल्मीकि कलेजमा २६ जना, सप्तगण्डकी कलेजमा २१ जना, नारायणी पब्लिक स्कुलमा २१ जना गरी २८३ जनाले छात्रवृत्ति पाएका छन् ।

संस्थागत विद्यालय तथा कलेजहरुले भर्ना भएका विद्यार्थीहरु मध्ये १० प्रतिशतलाई अनिवार्य रुपमा छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था छ । एसईईमा प्राप्त गरेको सबैभन्दा माथिल्लो ग्रेड (जीपीए)लाई नै मुख्य आधार बनाएर छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरिएको हो ।

विज्ञान संकायमा छात्रवृत्तिका लागि विज्ञान, गणित र अंग्रेजीमा विद्यार्थीले प्राप्त गरेको जीपीएलाई आधार मानिएको थियो भने अन्यमा गणित, अंग्रेजी, नेपाली र सामाजिक विषयको जीपीएलाई आधार बनाएर नतिजा सार्वजनिक गरिएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

त्यसमा पनि जेहेन्दार ३७ प्रतिशत, गरिब तथा विपन्न ३६ प्रतिशत, आदिवासी जनजाति १० प्रतिशत, दलित ५ प्रतिशत, अपाङ्गता भएका र जनआन्दोलन घाइतेका सन्ततीलाई समान ३÷३ प्रतिशत, सहिद, बेपत्ता परिवार र मधेस आन्दोलन घाइते सन्ततीलाई समान २÷२ प्रतिशतका आधारमा छनौट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस