आज नेकपाका संस्थापक पुष्पलालको ४५औं स्मृति दिवस मनाइँदै

सफल खबर संवाददाता

आइतबार, ०७ साउन २०८०, ०६ : ५१
आज नेकपाका संस्थापक पुष्पलालको ४५औं स्मृति दिवस मनाइँदै

काठमाडौ । आज आइतवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

नेपालका कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रम आयोजना गरी पुष्पलालको योगदानको सम्झना गर्दैछन् ।

विक्रम संवत् १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मिएका श्रेष्ठको २०३५ साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० गते भारतको कोलकाताको श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको सक्रियतामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । 

नेकपा स्थापना गर्नुअघि उनले विक्रम संवत् १९९८ सालमा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए । नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् ।

व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उनले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिएनन् । नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैं लागिरहे ।

अध्ययनशील नेताका रूपमा परिचित पुष्पलालसंँग नेपालको वर्तमान स्थितिका बारेका कार्यदिशा दिने क्षमता थियो । उनले नेपालको गहिरो इतिहास अध्ययन गर्नाका साथै केही पुस्तक पनि प्रकाशन गरेका छन् ।

शहीद गंगालाल श्रेष्ठका माइला भाइ समेत रहेका पुष्पलाल दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही विरोधी आन्दोलनमा सक्रिय भएका थिए । पुष्पलाल राजनीतिमा लागेकै कारण पीता भक्तलालललाई सुब्बाको जागिरबाट तत्कालीन सरकारले बर्खास्त गरेको थियो ।

विक्रम संवत् २०१७ सालको राजा महेन्द्रको कदम पछाडि उनले भूमिगत निर्वासित जीवन बिताएका थिए । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ । पुष्पलालको सम्झनामा आइतवार पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुर नगरपालिका–४ स्थित पुष्पलाल स्मृति उद्यानमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस