सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन : वामदेव गौतम

सफल खबर संवाददाता

शनिबार, ०६ साउन २०८०, १६ : ०५
सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन : वामदेव गौतम

काठमाडौँ । राष्ट्रियसभाका सदस्य तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष–साक्षात्कारमा बौल्दै नेता गौतमले सो कुरा बताएका हुन् ।

‘सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन । यो गलत आरोप हो । कति ठाउँ बलात्कार हुन्छ ? राजनीतिक संलग्नता हुन्छ त ? कति ठाउँमा चोरी हुन्छ ? अनि के राजनीतिक संलग्नता हुन्छ ? कति ठाउँ बाटाघाटामा मानिसहरु मार्दैै हिँड्छन् ? त्यहाँ राजनीतिक संलग्नत हुन्छ त ?’ गौतमले भने, ‘सडक दुर्घटना, सबै ठाउँमा संलग्नता हुन्छ ? जब तथ्यले के भन्छ, त्यो हेर्नुपर्छ । हरेक दलका नेताहरु त्यहाँ उपस्थित् भएका छन् ? कर्मचारीमात्रै उपस्थित छन्  । राजनीतिक संलग्नता भएको भए उनीहरुले भन्लान् नि ।’

उनले आफू गृहमन्त्री हुँदा सुन काण्ड नभएको पनि दाबी गरे ।  उनले भने,‘म पहिलोपटक ०५४ सालमा  गृहमन्त्री भएँ, म मन्त्री हुँदासम्म सुन काण्ड भएन । सुन काण्ड पछि उब्जियो । मन्त्रीबाट हटेपछि उब्जियो । बरु म सरकारमै भएको बेला मलाई कसरी हटाउने भनेर पार्टीभित्र र बाहिरबाट धेरै आवाजहरु उठाइए । र, अन्तिममा मलाई त्यही शक्तिले सरकारबाट हटायो, म त्यो बेला ७ महिनामात्रै मन्त्री भएको हुँ ।’

पछिल्लो सुन काण्डबारे के भन्नुहुन्छ ? एयरपोर्टमा प्रहरीको भूमिकालाई लिएर  सोधिएको एक प्रश्नमा गौतमले विमानस्थलमा प्रहरीको भूमिका सुरक्षासँग मात्रै सम्बन्धित रहेको सुनाए ।  ‘संसारका अरु महत्वपूर्ण देशका एयरपोर्टहरुमा प्रमुख रुपमा सेना खटेको हुन्छ । त्यसपछि प्रहरी पनि रहेका हुन्छन् । अरु धेरै भन्सारलगायत सबै संस्थाहरु संलग्न हुन्छ्न्’ गौतमले भने, ‘हाम्रो देशमा सेना बाहिरबाट सुरक्षामा बस्छ, भित्रैबाट बसेर नेपाल प्रहरीले काम गर्ने गर्छ । सुरक्षासम्बन्धी जाँचबुझ गर्छ । भन्सारसम्बन्धी हेर्ने सुरक्षाले होइन । भन्सारले माग गर्यो भने सुरक्षा निकाय त्यहाँ खट्नुपर्छ ।’ 

उनले यसको विषयमा गम्भीर छानबिनको आवश्यकत्ता औंल्याए । उनले थपे–‘जाँच पड्ताल गर्दै जाँदा लहरो तान्दाखेरि पहरो गर्जनेजस्ता हाम्रा उखानहरु छन्, त्यस्तो भयो भनेमात्रै मन्त्री पनि प्रधानमन्त्री पनि को–को हो तानिने स्थिति आउनसक्छ । नत्र भने त्यहाँ खटिएका कर्मचारीहरु नै मुख्य रूपमा दोषी हुन्छन् ।’  उनले आफू तीनपटक मुलुकको गृहमन्त्री भएको र सो अवधिमा सबैतिरबाट कामको प्रशंसा पाएको स्मरण गराए । 

 

प्रतिक्रिया दिनुहोस