एकीकृत समाजवादीमा समाहित भएपछि वामदेव गौतमको पद के हुन्छ ?

'आजको एकता सभाले वामदेवको नयाँ यात्रा घोषणा गर्नेछ'

सफल खबर संवाददाता

शुक्रबार, ०२ साउन २०८२, ०९ : ३३
एकीकृत समाजवादीमा समाहित भएपछि वामदेव गौतमको पद के हुन्छ ?

काठमाडौं । लामो समयदेखि आफ्नै अलग अस्तित्वका लागि संघर्षरत नेता वामदेव गौतम अब नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने भएका छन् । असार २७ गते भएको औपचारिक समझदारीपछि आज (साउन २ गते) राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममार्फत उनी नेतृत्वको “नेकपा एकता राष्ट्रिय अभियान“ एकीकृत समाजवादीमा मिसिँदैछ ।

एकतासँगै वामदेव गौतमको औपचारिक पद के हुने भन्नेबारे धेरैको चासो छ । पार्टी स्रोतका अनुसार उनलाई अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको तेस्रो वरियतामा राख्ने सहमति भएको छ । यद्यपि, औपचारिक पदनाम अझै खुलाइएको छैन ।

खासमा वामदेव गौतम एमालेमै फर्किन चाहन्थे । पछिल्लो केही महिनामा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक- पटक भेटघाट र संवाद गरेका थिए । तर ओलीको ‘न त गरौं न त छाडौं’ शैली र नदेखिएको ’भाउ’ ले गौतमलाई फेरि अपमानित बनायो । अन्ततः उनले आफ्नो पुरानै मित्र, सहकर्मी माधव नेपालतिरको ढोका ढकढक्याए - जसले खुलेर स्वागत गरे ।

विगतमा बारम्बार ‘राजनीतिक पुनरागमन’ गरेका वामदेवले योपटक आफूलाई पुनः स्थापित गर्न सक्लान् कि ‘सम्मानजनक विश्राम’ तर्फ अग्रसर हुन्छन् भन्ने प्रश्न सशक्त छ ।

नेता गौतमका एक निकटस्थका अनुसार, “ओलीसँग वामदेवले मात्र होइन, विचारले पनि जान चाहेका थिए, तर आत्मसम्मान र अस्तित्वको ठाउँ नभएपछि अर्को बाटो रोज्न बाध्य भए ।”

एकीकृत समाजवादीको भित्री सहमति अनुसार अध्यक्षमा नेपाल, सम्मानित नेतामा खनाल र त्यसपछि वामदेव गौतमको नाम आउनेछ । औपचारिकरूपमा ‘वरिष्ठ नेता’ जस्ता सम्मानजनक पद दिइने तयारी गरिएको छ । यद्यपि, ‘तेस्रो वरियताको’ यो स्थान वामदेवको अपेक्षाअनुसार हो कि ‘सम्झौतामै सन्तोष’ गर्नुपर्ने परिस्थिति हो भन्ने प्रश्न भने खुला छ । 

२०७७ पुस २५ गते, एमाले-माओवादी एकता सर्वोच्च अदालतले बदर गरेपछि वामदेवले नयाँ ‘एकता राष्ट्रिय अभियान’ चलाएका थिए । त्यस अभियानले सुरुवाती बेला केही चर्चा बटुल्यो, केही नेता–कार्यकर्तालाई समेट्यो पनि । तर, समयसँगै त्यो अभियान सक्रियताहीन र प्रभावहीन बन्दै गयो ।

वामदेव स्वयं पार्टी भन्दा पनि अभियानलाई नै निर्वाचन आयोगमा दर्ता गरेर अभियानको नाममा संगठन चलाउँदै थिए । तर, न एमालेमा फर्किने बाटो खुला भयो, न अलग पार्टीले ठोस आधार पायो । यस्तो अवस्थामा, नेपाल–खनालको एकीकृत समाजवादीसँग विलय हुनुलाई धेरैले ‘विलम्बित यथार्थ स्वीकार’ मानेका छन् ।

आजको एकता सभाले वामदेवको नयाँ यात्रा घोषणा गर्नेछ । तर, यो यात्रा उकालो हुनेछ कि ओरालो ? त्यसको निर्धारण उनका भूमिकाले गर्नेछ । विगतमा बारम्बार ‘राजनीतिक पुनरागमन’ गरेका वामदेवले योपटक आफूलाई पुनः स्थापित गर्न सक्लान् कि ‘सम्मानजनक विश्राम’ तर्फ अग्रसर हुन्छन् भन्ने प्रश्न सशक्त छ ।

राजनीतिक विश्लेषकहरू भन्छन्, “वामदेव जति विवादित छन्, उति नै अपरिहार्य देखिने प्रयासमा रहन्छन् । उनी जति पटक तल झर्छन्, उति पटक फर्कने कौशल देखाउँछन् । तर, अब उनको उमेर, ऊर्जा र सन्दर्भ तीनै कुरा फेरिएको छ ।”

प्रतिक्रिया दिनुहोस