काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले २०७४ को प्रतिनिधि सभा र प्रदेश सभामा चुनावमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ । कार्यकारिणी समितिको बैठकले गरेको निर्णयअनुसार चुनावमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई विधानमा भएको व्यवस्थाअनुसार कारबाही गर्ने भएको हो ।
राष्ट्रिय सभाका सदस्य एवं जसपाका कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवका अनुसार शनिवार बसेको कार्यकारिणी समितिको बैठकले चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो ।
केन्द्रीय कमिटीका अनुसार पार्टीको विधानमा भएको व्यवस्थाअनुसार जो जहाँका समितिमा आबद्ध छन्, त्यही समितिले कारबाही गर्ने निर्णय भएको छ । स्थानीय तहमा रहेकालाई स्थानीय समिति, जिल्लामा रहेकालाई जिल्ला समन्वय समिति, प्रदेशमा रहेकालाई प्रदेश समिति तथा केन्द्रमा रहेकालाई केन्द्रीय कमिटीले कारबाही गर्ने बताइएको छ ।
कारबाहीमा पार्टी सदस्यबाट हटाउनेदेखि लिएर नसिहतसम्मको कारबाही तोकिएको कार्यकारिणी सदस्य रकम चेम्जोङले बताए । मङ्सिर ४ गते सम्पन्न आम चुनावमा जसपाका अध्यक्ष उपेन्द्र यादव पराजित भएपछि त्यसको अध्ययन तथा छानबिनका लागि कार्यदल गठन गरिएको थियो । पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा गठन भएको सो कार्यदलले २०७९ फागुन २० गते पार्टी अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाएको थियो ।
कार्यदलले करिब डेढ महिना लगाएर ४८ जना केन्द्रीय सदस्यसहित १५२ जनासँग बयान लिएको थियो । त्यसमध्ये ८० जनालाई कारवाहीका लागि कार्यदलले सिफारिस गरेकोमा सबैभन्दा बढी सप्तरी जिल्लाका छन् ।
कार्यदलका संयोजक थापाका अनुसार जिल्ला जिल्लाबाट आएको उजुरीको आधारमा ती नेताहरूसँग बयान लिइएको थियो । चुनावको बारेमा देशैभरि छानबिन गर्ने भनिए पनि जसपाका अध्यक्ष उपेन्द्र यादव हारेको क्षेत्र सप्तरी–२ नै मुख्य टार्गेट थियो । अध्यक्ष यादवको निष्कर्ष पनि सो क्षेत्रमा पार्टीका नेताहरूबाटै असहयोग भएको कारण चुनाव हारेको रहेको छ ।
त्यसो त यसअघि २०७० को दोस्रो संविधानसभा र २०७४ को प्रतिनिधि सभाको चुनावमा भएको अन्तर्घातबारे छानबिन गर्न पनि जसपामा समिति बनेको थियो । ती कार्यदलले छानबिन गरी पार्टीलाई प्रतिवेदन बुझाएका थिए । तर, कुनै प्रतिवेदन सार्वजनिक भएन ।
तर यसपटकको चुनावमा पार्टी अध्यक्ष उपेन्द्र यादव स्वयम् पीडित भएको कारण विशेष जोड दिएर प्रतिवेदन सार्वजनिक गर्न लगाई कारबाहीको प्रक्रियामा लाने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ जेठ २०८०, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
यथास्थितिमा हुने निर्वाचनले जेन जेडको मागको सम्बोधन नगर्ने भन्दै संविधान पुनर्लेखन गर्न जसपाको माग
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता