अहिलेको राज्य व्यवस्था असफल भइसक्यो : विप्लव

सफल खबर संवाददाता

शनिबार, ०९ बैशाख २०८०, २० : २६
अहिलेको राज्य व्यवस्था असफल भइसक्यो : विप्लव

काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान राज्य व्यवस्था असफल भइसकेको बताएका छन्। 

नेपाली जनतालाई धेरै निराश र लज्जित बनाउने काम गरेकाले वर्तमान संसदीय व्यवस्था असफल भइसकेको उनको जिकिर थियो।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशलाई स्वाधिन बनाउन र नागरिकलाई मालिक बनाउनका लागि वैज्ञानिक समाजवादको विकल्प नभएकाले त्यसका लागि बहसमा जुट्न पनि अन्य कम्युनिष्ट पार्टीहरुलाई आग्रह गरे। 

जनताको शासन सत्ता ल्याउनका लागि आफ्नो पार्टीले अन्य कम्युनिष्ट पार्टीहरुसँग खुला बहस गर्न चाहेको महासचिव विप्लवको भनाइ थियो। 

उनले रुसमा लेलिनको नेतृत्वमा गरिएको रुसी क्रान्तिको स्मरण गराउँदै नेपालमा पनि निराश जनतालाई माथि उठाउन जनवादी सत्ता ल्याउनुको विकल्प नभएको पटकपटक दोहोर्‍याए। 

महासचिव विप्लवले नेपालमा वैदेशिक रोजगारी भित्र्याएर नेपाली जनतालाई पराधिन बनाउने कामको सूरुवात कांग्रेसले गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे।