सत्यतथ्य जनगणना सार्वजनिक गर्न राप्रपा नेपालको माग

सफल खबर संवाददाता

बुधबार, १५ चैत्र २०७९, १९ : १३
सत्यतथ्य जनगणना सार्वजनिक गर्न राप्रपा नेपालको माग

काठमाडौँ । राप्रपा नेपालले २०७८ सालको जनगणनामा हिन्दु, बौद्ध र किराँत धर्मावलम्वीहरुको संख्या घटेको भन्दै सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । पार्टी अध्यक्ष कमल थापाले बुधबार विज्ञप्ति जारी गर्दै सनातन धर्म हिन्दु, बौद्ध र किराँत संस्कृति र परम्परा कमजोर हुँदै गएको बताए । 

उनले लोभलालच, प्रलोभन, भ्रम र त्रास सिर्जना गरी योजनाबद्ध र संगठितरुपमा धर्म परिवर्तन गराउने काम भइरहेको उल्लेख गरेका छन् । 'धर्मनिरपेक्षताको आडमा धर्म परिवर्तन गर्न गराउन पश्चिमा मुलुकहरूले करोडौं डलर लगानी गरिरहेका छन् । केही प्रमुख दलहरूले धर्म परिवर्तनलाई संरक्षण प्रदान गरिरहेका छन् । राष्ट्रको पहिचान र एकताको आधार कमजोर बनाउने षड्यन्त्र भइरहँदा नागरिक समाज, बुद्धिजीवी वर्ग र आमसञ्चार माध्यमहरू उदासीन रहनु उदेकलाग्दो छ', उनले भने', सनातन धर्म संस्कृति र परम्पराको रक्षाका निम्ति अब संघर्षमा उत्रनु बाहेक अर्को विकल्प छैन। 

सनातन धर्म संस्कृतिका पक्षधरलाई संयुक्त र एकताबद्ध संघर्षको तयारीमा जुट्न राप्रपा नेपालले आह्वान गरेको छ ।