‘पत्रकार बिक्रीमा छन्’ भन्ने सभामुखको अभिव्यक्तिप्रति संसदमै विरोध

सफल खबर संवाददाता

आइतबार, ०५ चैत्र २०७९, १५ : १७
‘पत्रकार बिक्रीमा छन्’ भन्ने सभामुखको अभिव्यक्तिप्रति संसदमै विरोध

काठमाडौँ । सभामुख देवराज घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भनेर दिएको अभिव्यक्तिप्रति संसद बैठकमै विरोध जनाइएको छ । शुक्रवार सभामुख घिमिरेलाई भेट्न पुगेका नेपाल पत्रकार महासंघका प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै उनले पत्रकारहरु बिक्रीमा रहेको र सच्चिनुपर्ने आशयको अभिव्यक्ति दिएका थिए । आईतवारको संसद बैठकमा बोल्दै सांसदहरुले सो अभिव्यक्तिप्रति विरोध जनाएका हुन् ।

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले व्यवस्थापिकाको प्रमुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको बताए । उनले भने– ‘सम्माननीय सभामुखले पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ । व्यवस्थापिकाको प्रमुखले नै यस्तो अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन ? त्यतातिर पनि ध्यान जाओस् ।’

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बिक्री हुने पत्रकार कुन–कुन हुन् भनेर पत्ता लगाउन सभामुखले छानबिन समिति बनाउनुपर्ने माग गरे । उनले भने, ‘सभामुख महोदयको अर्को एउटा आएको छ, पत्रकारहरुको बारे । अब हुनत पत्रकारहरुको बारे यहाँले अध्ययन गरेर भन्नुभएको भए छानबिन समिति नै बनाउनुप¥यो । तर सबै पत्रकार त्यस्तो नहोला । कुन–कुन हो ? पित पत्रकारिता चलाउने । त्यो चाहिँ हामीलाई सभामुख महोदयबाट एउटा छानबिन समिति हुनुपर्यो ।’

सभामुखबाट उठेको विषय सार्वजनिक महत्वको विषय भएको हुनाले बिक्री हुने पत्रकारहरुका बारेमा छानबिन हुनैपर्ने उनले बताए ।