काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले नयाँ सरकार गठनमा सहजता ल्याउने उद्देश्यसहित नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतका विद्रोहीलाई आममाफी दिन मिल्ने अध्यादेश ल्याएर उनीहरूलाई जेलबाट छुटाउने गृहकार्य थालेको छ ।
टीकापुर घटनामा जिल्ला र उच्च अदालतबाट दोषी ठहरिएका चौधरी हाल जेल जीवन बिताइरहेका छन् । यद्यपि उनको मुद्दा भने हाल सर्वोच्चमा विचाराधीन छ । चौधरीले आफू निर्दोष रहेको भन्दै सर्वोच्चमा निवेदन दिएका थिए ।
आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायतलाई आममाफी दिन अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले बताए । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्दै विद्रोहीलाई आममाफी दिने प्रावधान राख्न लागिएको ती मन्त्रीले जानकारी दिए ।
दफा ११६मा अदालतमा दायर भएर विचाराधीन रहेको मुद्दा फिर्ता लिन नहुने प्रावधान छ । सरकारले सो प्रावधान हटाएर चौधरीलगायतलाई उन्मुक्ति दिने प्रयास थालेको हो । सत्ता गठबन्धनले सरकार गठनको सहजताका लागि भन्दै सो अध्यादेश ल्याउन लागेपछि सरकारको सो कदमको आलोचना भएको छ । विश्लेषकहरूले यसलाई सरकारको अलोकतान्त्रिक कदम भएको बताएका छन् ।
हालैको निर्वाचनमा सत्तारूढ दलको स्पष्ट बहुमत आउन नसकेपछि ती दलका नेताहरूले चौधरीलाई मुक्त गरी उनको पार्टी नागरिक उन्मुक्तिको सहयोग लिनेगरी गृहकार्य थालेको हो । नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने अडान सरकारसमक्ष राख्दै आएको छ ।
सो पार्टीलाई नयाँ सरकारमा सामेल गराउन गठबन्धनले अध्यादेशको साहरा लिएको हो । सिके राउतको पार्टीले पनि सरकारमा सहभागिताका लागि आफ्ना कार्यकर्ताको मुद्दा फिर्ता लिनुपर्ने बताउँदै आएको छ । सरकारको सो अध्यादेशले सिके राउतका पार्टीका कार्यकर्ताको मुद्दासमेत फिर्ता हुनेछ ।
चौधरी किन जेल जीवन बिताउँदै आइरहेका छन् ?
२०७२ मा संविधान जारी हुनै केही समय बाँकी रहँदा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा थरूहट आन्दोलनकारी र प्रहरीबीच भीषण झडप भएको थियो । सो झडपमा सेती अञ्चलका प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक ९एसएसपी० लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका पाँच जना तथा सशस्त्रका दुई र एक बालकसहित आठ जनाको मृत्यु भएको थियो । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २६ मंसिर २०७९, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आठ हजार ८१६ कैदी बन्दी अझै फरार
५८ कैदी बन्दी कारागार फर्किए
फरार कैदीलाई थप कारबाही गर्ने रौतहट प्रहरीको चेतावनी
झन्डै पाँच हजार कैदी फर्किए
कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ
कास्की र म्याग्दी कारागारबाट भागेका कैदी पक्राउ