सिंहदरबारभित्र पुराना सवारीसाधन लिलाम बिक्री गर्न परिपत्र

सफल खबर संवाददाता

शनिबार, २४ मंसिर २०७९, १९ : ५२
सिंहदरबारभित्र पुराना सवारीसाधन लिलाम बिक्री गर्न परिपत्र

काठमाडाैँ । सिंहदरबार परिसरभित्रका काम नलाग्ने र बिग्रिएका सवारीसाधन बिक्री गर्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले सबै मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको छ । मुख्यसचिव शङ्करदास बैरागीको संयोजकत्वमा केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको मङ्सिर १३ गते बसेको ६३ औँ बैठकले निर्णय कार्यान्वयनका लागि सबै मन्त्रालय र निकायलाई परिपत्र गरिएको हो ।

“सिंहदरबार परिसरभित्र रहेका विभिन्न निकायका पुराना सवारी साधनको उचित व्यवस्थापनका लागि तत् तत् निकायले कानुनबमोजिम लिलामी प्रक्रिया तत्काल अघि बढाउन निर्देशन छ”, समितिको परिपत्रमा भनिएको छ । 

त्यस्तै, सिंहदरबार परिसरभित्रको सुरक्षा व्यवस्था, ट्राफिक लाइट र सौन्दर्यकरणजस्ता कार्यका लागि सम्बन्धित निकायलाई पहल गर्न पनि निर्देशन दिइएको छ । सार्वजनिक सेवा प्रवाहमा सुधार, सम्भावित शीतलहरबाट हुने असर न्यूनीकरण, संयुक्त बजार अनुगमनलगायत विषयमा पनि केन्द्रीय अनुगमन समितिले निर्देशन दिएको छ । 

त्यस्तै राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वितरणसम्बन्धी कार्यलाई सरलीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । अन्तरनिकाय सूचना आदान–प्रदानमा सहजीकरण गर्न र एकीकृत सूचना प्रणाली अवलम्बन गर्न ‘डाटा गभर्नेन्स’लाई प्रभावकारी बनाउन पनि समितिको निर्देशन छ ।

त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई सामुदायिक विद्यालयमा आवश्यक पर्ने पाठ्यपुस्तकको छपाइ गरी समयमा नै पाठ्यपुस्तक उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिइएको छ । समितिले अर्थ मन्त्रालयलाई राजस्व बढाउनका लागि बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएको छ । “केही मालवस्तुको औपचारिक आयातको विवरण र बजारमा सामानको उपलब्धताबीच तालमेल नभएको हुँदा आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागले बजार अनुगमन बढाउन र चोरी–पैठारी नियन्त्रणमा खटिएका भन्सार सुरक्षा गस्तीहरुले समेत निगरानी बढाउन निर्देशन छ”, परिपत्रमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस