नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

रासस

सोमबार, ०९ चैत्र २०८२, १७ : ०७
नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौँ। प्राय: मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ ।मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन् ।

कतिपय कर्मचारीहरू मन्त्रीका कार्यकक्ष सजाउन खटिएका छन् । नयाँ मन्त्रीको स्वागतमा सजिएका छन्, मन्त्रालयहरू । यसै त वसन्त ऋतुमा सिंहदरबारका बगैँचामा फूलहरू ढकमक्क छन् ।

त्यसैमा अहिलेको सजावटले ‘सुनमा सुगन्ध’ थपिदिए जस्तै भएको छ । यसो हेर्दा लाग्छ, सिंहदरबारमा फुलेका फुलहरू पनि नयाँ सरकारको स्वागतार्थ लामबद्ध छन् ।

निर्वाचनको अन्तिम परिणाम आइसकेको छ र सांसदहरूको शपथ चैत १२ गतेका लागि तोकिएको छ । त्यसलगत्तै सरकार गठन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृहकार्यमै छ ।त्यसैले केही दिनमै बन्ने सरकारको स्वागतका लागि सिंहदबारभित्र तयारी भइरहेको हो ।

गत भदौ २३ र २४ गते जेन जेड आन्दोलनका क्रममा आगलागीमा परेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मुहार पनि यसै मेसोमा फेरिँदै छ, सिँगारिँदै छ ।

मन्त्रालयका सूचना अधिकारी मधुप्रसाद घिमिरेका अनुसार जेन जेड आन्दोलनका बेला टेलिफोनका जलेका टेलिफोनका तारहरू व्यवस्थित हुँदैछन् । उनले भने, “मन्त्रालय चिरिच्याट्ट बन्दै छ । नयाँ मन्त्रीको स्वागतमा तयार हुँदै छ ।”

युवा खेलकुद मन्त्रालयमा पनि नयाँ मन्त्रीको स्वागतका तयार गरिँदै छ ।यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि नयाँमन्त्रीसँगै नीतिगत कार्य सम्पादनको पर्खाइमा छ ।

प्रतिक्रिया दिनुहोस