शीर्ष नेता विकासभन्दा दोषारोपणमै व्यग्र

पत्रपत्रिकाबाट

शुक्रबार, १८ कार्तिक २०७९, ०८ : ४८
शीर्ष नेता विकासभन्दा दोषारोपणमै व्यग्र

काठमाडौं । व्यवस्था परिवर्तनसँगै नयाँ संविधान जारी भएको दुई दशक पुगिसक्दासमेत नेताका ‘एजेन्डा’ फेरिन सकेका छैनन् ।

मुख्य दलका शीर्षनेताहरू चुनावी सभा समारोहमा विकास र समृद्धिभन्दा ‘राजनीतिक जोडघटाउ’लाई नै प्राथमिकता दिन व्यग्र छन् । राजनीतिक दलले भलै चुनावी घोषणापत्रमा सुशासन, विकास र समृद्धिलाई जोड दिने गरेका छन् । तर, उनीहरूले आफ्ना भाषणमा ‘राजनीतिक जोडघटाउ तथा दोषारोपण नै मुख्य विषय’ बनाउने गरेका छन् । राजनीतिक दलका शीर्ष नेताले अहिले पनि एकअर्कालाई दोषारोपण गर्ने पुरानै शैली नछाडेको पाइएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा बिहीबार आयोजित कार्यक्रममा ‘विकास र समृद्धिभन्दा राजनीतिक विषय’लाई प्राथमिकता दिइएको पाइयो । ‘गठबन्धन केही समय कायम रहनुपर्ने’मा जोड दिँदै उनले ‘पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र मास्ने र संविधान च्यात्ने प्रयास थालेको’ आरोपसम्म लगाए । ‘ओलीले सरकारको नेतृत्व गरिरहेकै बेला दुईपटक मध्यरातमा संसद् विघटन गरेको’ स्मरणसमेत देउवाले गरे ।

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बिहीबार नै राजधानीमा आयोजित कार्यक्रममा ‘विकास र समृद्धिभन्दा राजनीतिक विषय’लाई बढी महत्व दिए । ‘४ मंसिरको निर्वाचनमा प्रतिगमनले जित्ने कि अग्रगमनले जित्ने, सुशासनले जित्ने कि अराजकताले जित्ने रु’ भन्ने प्रचण्डले उल्लेख गरे । ‘नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर अब ढुक्कसँग जान सकिने वातावरण बनाउनुपर्ने’ उनको जोड थियो ।

नेपाल समाजवादी पार्टी ९नेसपा० अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले पनि राजनीतिक विषयलाई नै बढी प्राथमिकता दिए । जनताको संघर्षबाट प्राप्त उपलब्धि रक्षाका लागि परिवर्तनकारी शक्ति एकठाउँ आउनुपर्ने उनको जिकिर छ । संविधानसभाबाट जारी संविधान, गणतन्त्र र संघीयता रक्षार्थ गठबन्धन एकठाउँ उभिएको उनको तर्क छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विकास समृद्धि र सुशासनको विषयभन्दा ‘राजनीतिक जोडघटाउमा नै जोड दिए । एमाले घोषणापत्रमा ‘विकास समृद्धिका कुरा समेटे पनि भाषणमा भने गठबन्धनलाई दोषारोपण गर्ने’मा उनले बढी समय खर्चिएको पाइयो । मुख्य दलका शीर्ष नेता मात्र नभएर वैकल्पिक शक्तिका रूपमा उदाउन खोजेका रवि लामिछाने, रविन्द्र मिश्र, रमेश खरेलसहितका उम्मेदवारले पनि राजनीतिक भाषण र दोषारोपणमै समय खर्चिने गरेका छन् ।

कतिपय व्यक्ति तथा समूहले सामाजिक सञ्जालमा अरूलाई हराउन ‘नो नट अगेन’जस्ता अभियान नै सञ्चालन गरेको पाइएको छ । राम्रो कामको प्रचार गरेर आफू अघि बढ्नुपर्नेमा नयाँ पुस्ता पनि अरूलाई दोष थुपारेर ‘आफू राम्रो हुने’ ध्येयमा लागेको देखिएका छन् ।

२०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्र गठबन्धन बनाएर चुनावी मोर्चामा होमिएका थिए । त्यतिबेला उनीहरूले स्थायित्व, विकास र समृद्धिको मुख्य नारा नै बनाए । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस