काठमाडौं । रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीबाट राजीनामा दिएका छन्। सोमबार मिश्रले विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा पत्र लेख्दै आफूले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको बताएका हुन्।
उनले सोमबार राति ९ बजेतिर सामाजिक सञ्जालमा लेख्दै पार्टी अध्यक्ष समक्ष राजीनामा पत्र पेस गरेको जानकारी दिएका छन्।
मिश्रको राजीनामा पत्र-
समीक्षा बास्कोटा
अध्यक्ष, विवेकशील साझा पार्टी
विषय: पार्टीको साधारण सदस्यबाट राजीनामा
केन्द्रीय कार्यालय, वखुण्डोल
झन्डै एक वर्षदेखि नेपालमा बृहत् र विश्वासिलो ‘नरम सम्वर्द्धनवादी (मडरेट कन्जरभेटिभ)’ राष्ट्रवादी शक्तिको निर्माणका लागि म राजनीतिक ध्रुवीकरणको प्रयासमा लागेको यहाँलाई विदित नै छ। अन्ततोगत्वा सो प्रयासको पहिलो महत्वपूर्ण पाइलाले मूर्त रूप लिने देखिएको छ। त्यसका लागि मैले पार्टी नै परिवर्तन गर्नुपर्ने भएकोले आजकै मितिदेखि लागू हुने गरी मैले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु।
यो मेरा लागि जीवनकै एउटा सबैभन्दा कठिनतम निर्णय हो। लामो गृहकार्यपछि आफैंले नेतृत्व गरेको साझा, र पछि, विवेकशील साझा पार्टीलाई, मार्ग परिवर्तन गरेर, फरक दृष्टिकोण बोक्ने साथीहरूको जिम्मा लगाउँदै ‘घर’ छोडेर हिँड्नु निश्चय पनि सहज विषय होइन। राजनीति र पार्टीको प्रधान उद्देश्य राष्ट्रहित हो। सो परिप्रेक्ष्यमा गत पाँच वर्षमा मैले यो देशका लागि जे अत्यावश्यक छ भन्ने सम्झिएँ, त्यो विश्वासलाई मार्नु उचित नहुने ठानेँ। मेरो मार्ग परिवर्तन र राजीनामा त्यसैको परिणाम हो।
नेपाली राजनीतिमा, अब दुई ध्रुवमा, तीनवटा प्रमुख पार्टी रहने छन्। ‘बायाँ ध्रुव’ मा नेपाली कांग्रेस र नेकपा एमाले रहने छन्, जसको प्रणालीगत दृष्टिकोणमा समानता रहे पनि कार्यनीतिहरूमा केही अन्तर हुनेछ। यी दुईको बीचमा केही वर्ष माओवादी पेन्डुलमझैं कहिले यता, कहिले उता गरिरहने छ। तर समयक्रममा त्यो कि साँघुरिँदै जानेछ कि राजनीतिबाटै हराउने छ।
नेपाली कांग्रेस र एमालेको विपरीत ‘दायाँ ध्रुव’मा ‘नरम सम्वर्द्धनवादी (मडरेट कन्जरभेटिभ)’ शक्ति रहने छ, जो राजनीतिक-सामाजिक रूपमा नरम सम्वर्द्धनवादी र अर्थ-राजनीतिक रूपमा उदार तर कल्याणकारी हुनेछ। अर्थात् त्यसले तुलनात्मक रूपमा उदार अर्थतन्त्रभित्र नि:शुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाजस्ता विषयलाई जोडदार रूपमा उठाउने छ र अंगीकार गर्नेछ। यो देशको दूरगामी हित र रूपान्तरणका लागि सोही नरम सम्वर्द्धनवादी शक्ति निर्माण गर्न मैले आफू पनि संलग्न भएर बनाएको घरभन्दा माथि देशलाई राखेको हुँ।
जो मेरो धारणासँग सहमत हुनुहुन्न र जसले मेरो मार्ग परिवर्तनबाट पीडा, अन्यौल र असहजता महसुस गर्नुभएको छ, म उहाँहरूको भावना बुझ्न सक्छु र उहाँहरूसँग हृदयदेखि क्षमायाचना गर्न चाहन्छु। वैचारिकरूपमा मसँग सहमत नहुने तिनै साथीहरूलाई अघि बढ्न सहज होस् भन्नकै लागि मैले यसबीच वैधानिक रूपमा पार्टी जोगाउनको लागि सकेको भूमिका निर्वाह गरेको हुँ। म मा आएको परिवर्तनका कारण हाम्रा दृष्टिकोणमा अन्तर रहे पनि र हामी फरक पार्टीमा भए पनि, तपाईंहरूप्रतिको मेरो भावना, स्नेह र सम्मानका कुनै कमी आउने छैन।
साझा र विवेकशील साझा पार्टीको निर्माणका क्रममा पार्टीभित्र र बाहिरबाट मलाई निः स्वार्थ सहयोग गर्नुहुने र सद्भाव राख्नुहुने सबैप्रति मैले जति आभार प्रकट गरे पनि अपर्याप्त हुन्छ। म सबैलाई के विश्वास दिलाउन चाहन्छु भने मैले पछिल्लो समयमा लिएका कठिन निर्णयहरू देशलाई नै शिरमा राखेर लिएको हुँ। मेरो निर्णयले परिणाम दिएन भने त्यो दोषको भागेदार अरू कोही नभएर म हुनेछु। परिणाम दियो भने, त्यसको सम्पूर्ण श्रेय शुभेच्छुक र सहयात्रीहरूमा जानेछ।
यसै अवसरमा, विश्वासिलो, बलियो र रूपान्तरणकारी नरम सम्वर्द्धनवादी शक्ति निर्माणका लागि समान सोच र आस्था भएका सबै व्यक्ति, समूह र पार्टीहरूलाई एकवद्ध हुन पनि म विनम्र आग्रह गर्न चाहन्छु।
रवीन्द्र मिश्र
सदस्य/निवर्तमान अध्यक्ष, विवेकशील साझा पार्टी
मिति: १० असोज २०७९
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० असोज २०७९, २१ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवीन्द्र मिश्र धरौटीमा रिहा
रवीन्द्र मिश्र पनि अदालतमा उपस्थित
रवीन्द्र मिश्र र धवल शमशेर सम्पर्कविहीन, जिम्मा लिने वकिललाई ५० हजार जरिवाना
रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश चुँडाल र श्रेष्ठको इजलासमा
रवीन्द्र मिश्रसहित इजलासमा उपस्थित हुन सर्वोच्चको आदेश
रवीन्द्र मिश्रसहितका आरोपितलाई पुनः म्याद थप गर्न अदालत लगियो