नागरिकता विधेयक पारित गर्नु गलतः नारायणकाजी श्रेष्ठ

सफल खबर संवाददाता

आइतबार, ०८ साउन २०७९, १६ : ३३
नागरिकता विधेयक पारित गर्नु गलतः नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा आपत्ति जनाउँदै सरकार र सत्तारुढ गठबन्धनप्रति आक्रोश व्यक्त गरेका छन्।

अन्तरवस्तु र पद्धति दुबै हिसाबले गलत ढंगले सो विधेयक प्रतिनिधिसभाबाट सरकारले र सत्तारुढ गठबन्धनले पारित गराएकोमा उनले रोष प्रकट गरे।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो विधेयक पारित गराउन नहुने विषयमा आफूले पार्टीमा, राष्ट्रियसभामा बोले पनि त्यसलाई बेवास्ता गरेर पारित गरिएको गुनासोसमेत गरे।

दलहरुमा वैचारिक–राजनीतिक स्खलन भएपछि यस्तो अवस्था आएको नेता श्रेष्ठको आरोप छ। उनले भने, ‘अहिलेको गठबन्धन सरकारले नागरिकतासम्बन्धी विधेयक यसरी ल्याउन मिल्छ? यो अन्तरवस्तु र पद्धति दुबै कोणबाट गलत छ भन्ने कुरा मैले त यो पारित गर्नु अघि नै राखेको छु, राष्ट्रिय सभामा बोलेको छु, आफ्नो पार्टीमा पनि राखेँ, राष्ट्रियसभामा पनि बोलेँ। त्यो पारित भएपछि किन गलत छ भनेर त मैले सार्वजनिक बहस गरिसके त! यस सम्बन्धमा विचारको समस्या होइन। वैचारिक–साँस्कृतिक स्खलनको समस्या हो। निष्ठा कमजोर हुँदै गएको समस्या हो। तत्कालीक राजनीतिक स्वार्थहरुबाट प्रेरित हुँदै गएको समस्या हो। त्यसको कारणले चुनौती बढेको हो। र, खतरा पैदा भएको हो।’

प्रतिक्रिया दिनुहोस