पछिल्लो तीन महिनामा चट्याङ लागेर देशभर ५२ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०१ साउन २०७९, १३ : ५८
पछिल्लो तीन महिनामा चट्याङ लागेर देशभर ५२ जनाको मृत्यु

काठमाडौं। पछिल्लो तीन महिनामा चट्याङ लागेर देशभर ५२ जनाको मृत्यु भएको छ । २०७९ वैशाख १ देखि असार ३२ गतेसम्म तीन महिनाको अवधिमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो । 

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रको तथ्याङ्क अनुसार सो अवधिमा देशभर १४८ वटा चट्याङका घटनामा परी १२३ जना घाइते भएका छन् । चट्याङबाट २०९ परिवार प्रभावित भएको छ । 

चट्याङले १० घरमा आंशिक र ४ घरमा पूर्ण क्षति गरेको छ । चट्याङ लागेर ४२४ वटा चौपाया मरेका छन् । पछिल्लो तीन महिनामा चट्याङले २५ लाख ४२ हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार चट्याङ लागेर ३३ जिल्लामा यो अवधिमा मानिसको मृत्यु भएको छ । केन्द्रको तथ्याङक अनुसार चट्याङ लागेर सबैभन्दा बढी बागलुङ, मकवानपुर र प्युठानमा मृत्यु भएको छ । बागलुङमा ५, मकवानपुरमा ३ र प्युठानमा ३ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । 

गत वर्ष (२०७८ साल) चट्याङ लागेर देशभर ५६ जनाको मृत्यु र १७९ जना घाइते भएका थिए । गत वर्ष चट्याङका घटनाले २ करोड १५ लाख ८१ हजार ८३० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो । 

प्रतिक्रिया दिनुहोस