नेपाली क्रिकेट विदेशी कम्पनीलाई सुम्पिनु खेदजन्य : गोकुल बाँस्कोटा

सफल खबर संवाददाता

आइतबार, १२ असार २०७९, २१ : १९
नेपाली क्रिकेट विदेशी कम्पनीलाई सुम्पिनु खेदजन्य : गोकुल बाँस्कोटा

काठमाडौं । पूर्व सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट विदेशी कम्पनीलाई सुम्पिनु खेदजन्य र गम्भिर आपत्ति भएको प्रतिक्रिया दिएका छन् ।

आइतबार संघीय प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेकपा एमालेका नेता बास्कोटाले क्यान र गठबन्धन सरकारमाथि ‘नेपाल टी २० लिग’ गर्न भारतीय  सेभेन थ्री स्पोर्ट्र्स कम्पनीलाई कमर्सियल सम्झौता दिएकोमा आपत्ति जनाएका हुन् । 

‘नेपालको एउटै खेल विश्व वरीयतामा अलि कति माथि छ भने, त्यो क्रिकेट नै हो । १४ एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त देशमध्य नेपाल पनि एक हो । तर, यस सरकारले नेपालको सम्पूर्ण खेल क्षेत्रलाई भारतको सेभेन थ्री स्पोर्ट्स प्रालि कम्पनीलाई सुम्पियो । क्रिकेट खेलको बन्ध्याकरण गर्यो । त्यो पनि आठ वर्षका लागि । हामी सबैलाई थाहा छ, खेलाडीहरु लिगहरुमा ‘हायर’ हुन सक्छन् । तर, यहाँ सम्पूर्ण खेल क्षेत्रमाथिको नियन्त्रण एउटा भारतीय कम्पनीलाई दिइएको छ’ बास्कोटाले भने । 

यस अघि क्यानले ११ वैशाखमा लिग हुने मेल मार्फत् जनाएको थियो । यसपछि क्यानले ४ जेठमा नक्साल स्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आधिकारीक घोषणा गरेको थियो । क्यानले प्रतियोगिता आधिकारीक घोषणासँगै नेपालमा चल्तिमा आएको फ्रेन्चाईज लिग गर्न नदिने बताएपछि एभरेष्ट प्रिमियर लिग संचालक आमिर अख्तरले पत्रकार सम्मेलन गर्दै क्यानको सो निर्णयको खण्डन र विरोध गरेका थिए । 

यसपछि क्यानले १० जेठमा भ्रामक समाचार अख्तरले सम्प्रेषण गरेको भन्दै ध्यानाकर्षण भएको विज्ञप्ती निकाल्यो । सोहि दिन बसेको क्यानको कार्यसमिति बैठकले नेपाल टी–२० लिग खेल्ने ६ टिम सहित तीन फ्रेन्चाइज लिगलाई क्षेत्रीय मान्यता दिने बताएको थियो । 

यस निर्णयसँगै कुनै समय क्यान निकट देखिएका आमिर अख्तर अहिले क्यानका सबैभन्दा ठुलो दुस्मनको रुपमा देखिएका छन् । सोहि प्रकण एकपटक संसदमा देखिएको हो । 

प्रतिक्रिया दिनुहोस