वामदेव गौतमले भने : ‘म लागेको भए पार्टी विभाजन हुँदैनथ्यो, आत्मालोचित भएको छु’

सफल खबर संवाददाता

शनिबार, ११ असार २०७९, १० : ५६
वामदेव गौतमले भने : ‘म लागेको भए पार्टी विभाजन हुँदैनथ्यो, आत्मालोचित भएको छु’

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका नेता वामदेव गौतमले आफूले प्रयास गरेको भए तत्कालिन ‘नेकपा’ पार्टी विभाजन नहुने भन्दै आत्मालोचना गरेका छन्। 

शनिबार नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले नेकपा विभाजन भएकामा पश्चाताप लागेको समेत उल्लेख गरे ।

उनले आफूलाई धेरैजसोले वामदेवका कारण पार्टी विभाजन भएको भनेर आरोप लगाउने गरेको गुनासो गर्दै भने, ‘धेरैजसोले वामदेवकै कारण विभाजित भयो भने आरोप लाग्यो,’ गौतमले भने, ‘मैले पनि गल्ती गरेकै हो भनेर आजको प्रस्तावमा पनि लेखेको छु। वामदेव लागेको भए पार्टी जोगाउन सकिन्थ्यो भन्नुभयो। यो साँचो हो, म लागेको भए पार्टी विभाजन हुँदैनथ्यो। म आत्मालोचित भएको छु।’

तत्कालीन नेकपाको सचिवालय सदस्यहरुले चाहेको खण्डमा त्यतिबेला नेकपा विभाजित नहुने उनले बताए। ‘यो काम सचिवालयभित्रबाट पार्टी विभाजनअघि नै गर्नुपर्थ्यो, सबैले सक्नुहुन्थ्यो तर गर्नु भएन। मैले पनि गर्न सकिनँ। मैले पार्टी विभाजन हुन्छ भने कल्पनै गरिनँ’, उनले भने।तत्कालीन प्रधानमन्त्री केपी ओलीविरुद्ध भएको अविश्वास प्रस्ताव र ओलीले गरेको संसद विघटनका कारण पार्टी विभाजित भएको उनको तर्क छ।
 

प्रतिक्रिया दिनुहोस