चितवन । चितवनको भरतपुर महानगरपालिकालाई प्रशासनिक भवन बनाउन नेपाल नेत्रज्योति संघ, चिवतनले एक विघा १५ धुर जग्गा दिएको छ ।महागनरपालिकासँगै रहेको संघको जग्गा महानगरको नाममा लैजाने गरी बिहीबार मेयर रेनु दाहाल र नेपाल नेत्रज्योति संघ चितवनका अध्यक्ष कृष्णराज धरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
भरतपुर महानगरपालिका–१० स्थित भरतपुर हाइटमा नेपाल नेत्रज्योति संघ, चितवनले भोगचलन गर्दै आइरहेको एक बिघा ७ कठ्ठा १५ धुरमध्ये भरतपुर महानगरपालिकालाई एक बिघा १५ धुर जग्गा दिने सम्झौता पत्रमा उल्लेख छ ।
सोही ठाउँमा सञ्चालित भरतपुर आँखा अस्पतालको बहिरंग सेवा विभागको भवन भने यथावत रहनेछ । त्यसका लागि ७ कठ्ठा जमिन संघले आफैसँग राखेको हो ।
सम्झौता पत्रमा भरतपुर आँखा अस्पतालको सेवा सञ्चालन गर्न आवश्यक पर्ने अस्पताल भवन निर्माणका लागि भरतपुर महानगरपालिकाले आवश्यक स्रोत व्यवस्थापन गरिदिने उल्लेख छ । साथै महानगरपालिकाले उक्त भवनको नक्सा पास गर्दा लाग्ने दस्तुर मिनाहा गर्ने पनि सहमति भएको छ ।
सम्झौतापछि सो जग्गा भरतपुर महानगरपालिकाको नाममा लालपूर्जा बनाउने प्रक्रिया अघि बढ्ने महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले जानकारी दिए ।
महानगरपालिकाले प्राप्त गरेको जग्गामा आइसल्याण्ड जंगल रिसोर्ट सञ्चालनमा रहेको थियो । सो रिसोर्टको सम्झौता सकिएपछि अहिले खाली अवस्थामा रहेको छ ।
सो जग्गा भौतिक संरचनासहित युएसएडले २०४६ पुस २६ गते नेपाल नेत्रज्योति संघलाई हस्तान्तरण गरेको थियो ।भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरपालिकाले बजारको मुटुमा १ विघा १५ धुर जग्गा पाउनु अहिलेसम्मकै ठूलो सफलता भएको बताइन् । ‘मुख्य राजमार्गमै एक विघाभन्दा बढी जग्गा प्राप्त गर्नु ठूलो सफलता हो, यसले महानगरको प्रशासनिक क्षेत्र फराकिलो र आकर्षक हुने भयो’, मेयर दाहालले भनिन् ।
महानगरपालिकाको अहिले रहेको भवनको पूर्वतर्फ नयाँ प्रशासनिक भवन बन्नेछ । हाल महानगरपालिका मातहतमा रहेको जग्गामात्र प्रशासनिक भवनका लागि साँघुरो हुने भएपछि नेपाल नेत्रज्योति संघले भोग चलन गर्दै आएको जग्गा लिन महानगरपालिकाले जोड गर्दै आएको थियो ।
सात कठ्ठामा निर्माण हुने ६ तले नयाँ प्रशासनिक भवनको कुल लागत ९४ करोड ३२ लाख ३० हजार रुपैयाँ रहेको छ । आगामी साढे दुई वर्षमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
भवनका लागि अर्थ मन्त्रालयबाट पनि ३५ करोड रुपैयाँको स्रोत सुनिश्चित भइसकेको छ । अपुग रकम महानगरले व्यहोर्ने छ ।महानगरले प्रशासनिक भवन बनाउन बोलपत्र आह्वान गरिसकेको छ । ठेकेदारसँग सम्झौता भएको मितिले ३० महिनाभित्र बनाइसक्ने भवन ६ तले हुनेछ । जम्मा क्षेत्रफल १४ हजार १५२ वर्गमिटर बन्ने भवनमा ५० गाडी र २५० वटा मोटरसाइकल अट्न सक्ने अन्डर ग्राउण्ड पाकिङ हुनेछ ।
भवनमा दुईवटा लिफ्ट, साँस्कृतिक हल, पुस्तकालय रहनेछ । त्यस्तै प्रत्येक तलामा जेष्ठ नागरिक विश्राम कक्ष रहनेछ ।भवनमा १५८ वटा साना ठूला कार्य कक्ष रहने छन् भने २२१ वटा कोठाहरु रहने छन् । भवन शिलान्यास गत चैत ११ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असार २०७९, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरद्वारा विज्ञापन कर नतिर्ने बिदेशी कम्पनीका होडिङ बोर्ड हटाउन सुरु
चितवनमा विषादी प्रयोगबारे किसानलाई सचेतना
भरतपुरमा वैशाखदेखि मेयर कप फुटबल हुने, मुख्य प्रायोजनमा सेन्ट्रल कलेज
भूकम्प पीडितलाई भरतपुर महानगरको एक करोड सहयोग
भरतपुर हेल्थ हबको रूपमा बिकास हुँदै गएको छ: प्रधानमन्त्री प्रचण्ड
भरतपुर महानगर प्रमुख दाहाललाई बेलायत जान मन्त्रिपरिषद्ले दियो अनुमति