एमालेले अनुशासन सम्बन्धी सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

सफल खबर संवाददाता

मंगलबार, ३१ जेठ २०७९, १९ : ४९
एमालेले अनुशासन सम्बन्धी सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

पार्टीभित्र देखापरेका अनुशासनहीनतालाई बैचारिक रुपमा परास्त गर्ने मूल उद्देश्यका साथ साउन महिनाको दोस्रो साताबाट अन्तिम सातासम्म प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय लिइएको पार्टीका आयोगका अध्यक्ष केशव बडालले जानकारी दिए ।

बैठकले पार्टीको सिद्धान्त, मूल्य मान्यता, सिद्धान्त र अनुशासन विपरितका कुनै पनि गतिविधि हुन नदिन सबै कमिटीहरुलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ । अध्यक्ष बडालले भने, ‘हाम्रो आयोगले सातै प्रदेशमा अनुशासनसँग सम्बन्धित विषयबस्तु, पार्टीको सिद्धान्त, कार्यक्रम र कार्यनीतिका बारेमा प्रशिक्षण कार्यक्रम राख्ने निर्णय ग¥यो । श्रावण महिनाको दोस्रो हप्तादेखि चौंथो हप्तासम्म सक्ने गरी सो प्रशिक्षण कार्यक्रम राखिनेछ ।’

उनले फेरि भने, ‘त्यो प्रशिक्षणको विषयबस्तुमा मुख्यतः केन्द्रीय अनुशासन आयोगको अधिकार, कर्तव्य, दायित्व र केन्द्रीय अनुशासन आयोगलाई सबै केन्द्रीय कमिटी, प्रदेश कमिटी, पार्टी जिल्ला कमिटी, सम्पर्क कमिटीहरुले हेर्ने दृष्टिकोण सम्बन्धि सवालमा र सहकार्य अघि बढाउने सवालमा अनुशासन आयोग र पार्टी कमिटीको बीचमा हातेमालो गरेर अघि बढाउने विषयहरु नै प्रशिक्षणका विषयबस्तु हुन जान्छन ।’

उनले थप भने, ‘पार्टीभित्र अहिले देखा परेका केहीकेही समस्यालाई हल गर्ने विषयमा र पार्टी भित्र देखा परेका केही अनुशासनसम्बन्धी समस्यालाई यही बैचारिक शिक्षाद्धारा अनुशासित पंक्ति निर्माण गर्नका लागि जोडदार रुपमा प्रयत्न गर्ने । सम्पूर्ण नेकपा एमालेका ११ लाख पार्टी सदस्यहरु पार्टीको दर्शन, सिद्धान्त, मूल्यमान्यता, आचरण र अनुशासनलाई दृढतापूर्वक पालना गर्न÷गराउनलाई हरेक कमिटीले पहल कदमी गर्नुपर्छ भन्ने र यसलाई लागू गराउनका लागि प्रदेश कमिटी र जिल्ला कमिटीलाई पत्राचार गर्ने निर्णय पनि गरियो ।’

प्रशिक्षण कार्यक्रममा केन्द्रीय अनुशासन आयोगको अधिकार, कर्तव्य, दायित्व र केन्द्रीय अनुशासन आयोगलाई सबै केन्द्रीय कमिटी, प्रदेश कमिटी, पार्टी जिल्ला कमिटी, सम्पर्क कमिटीहरुले हेर्ने दृष्टिकोण सम्बन्धी विषयबस्तु हुने पनि आयोगले जनाएको छ । त्यसैगरी बैठकले उमानाथ ओली, प्रदिप प्याकुरेल, लालमणि चौंधरी, दीपक देवकोटा र पूर्णशोभा चित्रकारलाई आयोगको सदस्य थप गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस