निर्वाचन अघि वामपन्थी एकताको सम्भावना छैन : प्रदीप ज्ञवाली

सफल खबर संवाददाता

सोमबार, ३० जेठ २०७९, २० : ४४
निर्वाचन अघि वामपन्थी एकताको सम्भावना छैन : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्काल वामपन्थी पार्टीहरुबीचको एकता सम्भावना नभएको दाबी गरेका छन् ।आजको सचिवालय बैठकपछि पत्रकारसम्मेलनमा उपमहासचिव ज्ञवालले एमाले र माओवादी केन्द्रबीच एकताको अनुमान सही नभएको दाबी गरेका हुन्। 

अहिले देशलाई वामपन्थी एकातिर र गैरवामपन्थी एक हुनुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको उनले बताए । 'त्यो अनुमान सही होइन । छलफल चलिरहेको छ एमाले अहिले देशलाई वामपन्थी एकतातिर र गैरवामपन्थी एक हुनु पर्छ भन्ने ध्रुवीकरणको पक्षमा एमाले छैन ।' उनले भने । 

एमाले अहिले बलियो राष्ट्रिय शक्ति बनाउने पक्षमा केन्द्रीत रहेको उनको भनाइ छ । आदर्श र निष्टाका राजनीतिक गर्ने वामपन्थी एमालेमा जोडिन सक्ने उनले बताए ।

साथै नेता ज्ञवालीले नेपाली कांग्रेसलाई शिरमा बोकेर कम्युनिस्ट पार्टीलाई हरायौँ भनेर खुसी मनाउनेहरुसँग वाम गठबन्धनको सम्भावना नरहेको पनि बताए ।  'वाम गठबन्धनको हल्ला चलाएको हुनसक्छ । ५० प्रतिशत सिट नदिए भए मलाई त एमालेले प्रधानमन्त्री नै बनाउने प्रस्ताव गरेको छ भनेर कांग्रेससँग बार्गेनिङ गर्ने कुरासँग एमालेको सम्बन्ध छैन ।' उनले भने ।