समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गर्नपर्छ : मुख्यमन्त्री पाण्डे

सफल खबर संवाददाता

सोमबार, ३० जेठ २०७९, १६ : ४४
समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गर्नपर्छ : मुख्यमन्त्री पाण्डे

काठमााडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गर्न आफ्नो प्रदेश अन्तरगतका स्थानीय तहहरुलाई आग्रह गरेका छन।

सोमबारबाट हेटौंडामा सुरु भएको बागमती प्रदेश अन्तरगतका स्थानीय जनप्रतिनिधिहरुको अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले गरिव तथा सामाजिक विभेदमा परेकाहरुको उत्थान हुने खालको नीति तथा कार्यक्रम ल्याएको उल्लेख गर्दै त्यसैसँग जोडेर बजेट ल्याउन पनि स्थानीय तहको ध्यानाकर्षण गराए ।

एकल महिला, दलित, लोपोन्मुख, सिमान्तकृत समूदाय, अपांगता भएका महिलाहरुको सशक्तिकरणका लागि सीप, पूँजी र प्रविधिको उपयोग गरिने कुरालाई स्थानीय सरकारले पनि विशेष रुपले अघि बढाउनुपर्ने मुख्यमन्त्री पाण्डेले बताए।

मुख्यमन्त्री पाण्डेले व्यापक बहस गरेर कानुन निर्माण गर्ने र त्यसको पूर्ण कार्यान्वयनमा जोड दिन पनि स्थानीय जनप्रतिनिधिहरु सफल हुने विश्वास व्यक्त गरे । स्थानीय तहलाई नै हेरेर प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने भएकाले त्यसै अनुसार स्थानीय तहले पनि बजेट ल्याउँदा उपयुक्त हुने उनले बताए ।

दुई दिनसम्म चल्ने अभिमुखिकरण कार्यक्रममा स्थानीय सरकार संचालन र स्थानीय विकास सम्बन्धमा विस्तृत छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस