‘समाजिक सद्भाव बलियो बनाउँदै नयाँ बाटो पहिल्याउनुपर्छ’ : मुख्यमन्त्री पाण्डे

सफल खबर संवाददाता

विहीबार, २६ भदौ २०८२, १२ : ५१
‘समाजिक सद्भाव बलियो बनाउँदै नयाँ बाटो पहिल्याउनुपर्छ’ : मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक एकता र सद्भाव बलियो बनाउँदै नयाँ बाटो पहिल्याउनुपर्नेमा जोड दिएका छन् । 

उनले आज वक्तव्य जारी गर्दै नेपाली समाजको विशिष्ट चरित्र समाजिक एकता र सद्भाव भएको भन्दै यसलाई अझै बलियो बनाउँदै हामीले नयाँ बाटो पहल्याउनुपर्ने समय आएको बताए । 

विद्यमान विषम परिस्थितिमा संयम, संवाद र एकताको बाटोबाट मात्रै मुलुकलाई निकास दिन सकिने मुख्यमन्त्री पाण्डेको भनाइ छ । यही भदौ २३ र २४ गते ‘जेनजी’ युवाद्वारा गरिएको प्रदर्शनका क्रममा भएको मानवीय क्षति र त्यसपछिका सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको अकल्पनीय विनाशबारे दुःख व्यक्त गर्दै वक्तव्यमा जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरे । उनले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे । 

यही भदौ २३ को अत्यधिक बल प्रयोगले ठूलो मानवीय क्षति पुर्‍याएको र त्यसपछिका योजनाबद्ध आगजनी तथा तोडफोडका घटनाले मुलुकलाई स्तब्ध बनाएको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे । गण्डकी प्रदेश सरकार शान्ति, स्थायित्व र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे । वर्तमान परिस्थितिबाट देशलाई निकाल्ने बाटो संवाद र एकता मात्रै रहेको भन्दै मुख्यमन्त्रीले यस पहललाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत् सबैको सहकार्य अपरिहार्य रहेकामा जोड दिए । 

युवापुस्ताको आकाङ्क्षा र भावनालाई आत्मसात् गर्दै संवैधानिक रिक्तता सिर्जना हुन नदिई वैधानिक र लोकतान्त्रिक बाटोबाट दीर्घकालीन समाधान खोज्नुपर्ने उनले आवश्यकता औँल्याए ।

 यही भदौ २३ मा गरिएको अत्यधिक बल प्रयोग र त्यसपछिका घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया दिनुहोस