राष्ट्रिय सभामा नीति तथा कार्यक्रमाथि छलफल, कसले के भने ?

सफल खबर संवाददाता

विहीबार, १२ जेठ २०७९, १६ : २४
राष्ट्रिय सभामा नीति तथा कार्यक्रमाथि छलफल, कसले के भने ?

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भएको छ ।बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आफ्ना धारणाहरू गरेका हुन् ।

छलफलमा बोल्दै संयुक्त संशोधन कर्ता भैरवसुन्दर श्रेष्ठले गठबन्धन सरकारले पूर्ववर्ती सरकारले ल्याएको भन्दा कमजोर नीति तथा कार्यक्रम ल्याएको बताए ।नीति तथा कार्यक्रमको बुँदा १३५ मा राखिएको वस्तुगत आधार भनेको सबै जनताले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)हुँ भन्नुपर्ने हो भन्दै प्रश्न गर्नुभयो ।

त्यस्तै संयुक्त संशोधन कर्ता शेखरकुमार सिंहले डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने कुरा नीति तथा कार्यक्रममा आउँदा सप्तरीमा आउन नसकेको गुनासो गरे ।

बुँदा ६० मा इनरुवादेखि बेली भन्सारसम्मको अन्दाजी १४ किलोमिटर सडकलाई विस्तार तथा पुनः निर्माण गर्नुपर्ने मा नीति कार्यक्रममा नै नहुनु दुःखद् भएको उनले बताए ।त्यस्तै संयुक्त संशोधनकर्ता भगवती न्यौपानेले सरकारले ल्याएको नीति तथा कार्यक्रम झुटको पुलिन्दा भएको बताए ।

उनले आफैंले ल्याएको नीति तथा कार्यक्रममा पनि सत्ता पक्षकै सांसदहरू उत्साहीत नरहेकोले सरकार गलत ढंगले हिँडिरहेको आरोप लगाए ।न्यौपानेले राष्ट्रियताको बारेमा बुँदा ७७ मा आपत्तिजनक कुरा उठाइएको पनि बताए । उनले उर्जा विस्तारको निम्ति नेपाल र भारतले संयुक्त रूपमा जारी गरिएको कुरा लम्पसारवादको उत्कृष्ट नमूना भएको आरोप लगाए ।

त्यस्तै राष्ट्रिय सभा सदस्य विमला घिमिरेले नीति तथा कार्यक्रमको बुँदा ७२ मा एक घर एक धारा पु¥याउने बुँदा रहेको भए पनि ४ लाख ६६ हजार मात्रै भनिएकोले त्यतिमा मात्रै सीमित किन भनि प्रश्न गरे ।

उनले खानेपानी उच्च र मध्यम जस्ता कुराहरू गरिएकाले त्यसलाई सच्याउन माग गरे । सरकारले नीति तथा कार्यक्रममा लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका सीमा मिचिएका क्षेत्रलाई फर्काउने कुरा नगरेको बताए ।

त्यस्तै राष्ट्रिय सभा सदस्य कमला पन्तले सरकारले ल्याएको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताउनुभयो । नीति तथा कार्यक्रममा उत्पादन र उत्पादक्त्व वृद्धि, रोजगारी सिर्जना, आय, असमानता, सुशासनका कुराहरूलाई जोड दिएको उनको भनाइ छ ।

पन्तले सरकार महंगी नियन्त्रणमा स्पष्ट हुनुपर्ने माग राख्नुभयो । उनले हरेक वडामा महिला विकास कार्यालय खोलनुपर्ने बताए।

त्यस्तै राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले नीति तथा कार्यक्रम झुटको सहारामा बनाइएको आरोप लगाए । उनले नीति तथा कार्यक्रममा अघिल्लो सरकारले रेलका कुरा गर्दा खिल्ली उडाएपनि अहिले त्यसलाई प्राथमिकता दिएकोमा खुशी लागेको धाराणा राखे ।

त्यस्तै राष्ट्रिय सभा सदस्य सुरेशकुमार आले मगरले नीति तथा कार्यक्रम सकारात्मक रहेको प्रतिक्रिया दिए । उनले उद्योगधन्दा र जडिबुटीको क्षेत्रलाई जोड दिनुपर्ने बताए। नीति तथा कार्यक्रममा आदिवासी र जनजातीको कुरा उठाउन सरकारले कन्जुस्याँइ गरेको उनको आरोप छ ।

त्यस्तै राष्ट्रिय सभा सदस्य डा वेदुराम भुसालले अघिल्लो सरकारले बाँडेका सपना जस्तो नभइ सपना चिर्ने गरेर नीति तथा कार्यक्र आएको बताए । उनले सरकारले नयाँ उद्योग खोल्ने नीति कार्यक्रम नल्याएको, कृषि उपजमा उद्योग खोल्ने नीति नबनाएको, जडिबुटीको खेती, प्रशोधन गर्ने उद्योगहरु खोल्न ध्यान नदिएको बताए ।

भुसालले नेपालमा अब मल कारखाना खोल्न सक्नुपर्ने धारणा राखे । पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रण गर्नेतर्फ सरकारको ध्यान नगएको, विद्युत उपयोगमा नीति ल्याउन नसकेको, कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो फिर्ता ल्याउँछौँ भन्न नसकेको बताए।

त्यस्तै राष्ट्रिय सभा सदस्य हरिराम चौधरीले अहिलेको नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, रोजगारीलाई समेटेर आएको बताउनुभयो । सरकारले सुदूरपश्चिम क्षेत्रमा नीति तथा कार्यक्रममा लापरबाही गरेको उनको भनाइ छ ।

त्यस्तै राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले मिथिला भूमिलाई मिथिला कृषि नमूना क्षेत्र घोषणा गरेर सिंचाईको व्यवस्था मिलाउनु पर्नेमा जोड दिए ।

त्यस्तै राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले सरकारको नीति तथा कार्यक्रममा बाली बीमाको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले ठूला शहरमा भएका फोहारबाट मोहोर निकाल्न सक्ने गरी नीति ल्याउनुपर्ने बताए ।

त्यस्तै राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले नीति तथा कार्यक्रममा धेरै पक्षहरू समेटिएको बताए । उनले नीति तथा कार्यक्रममा नेपाल र भारतको सम्बन्ध सुमधुरभनिएपनि भनिएजस्तो नभएको बताए ।

विश्वकर्माले सीमाका बारेमा नेपालले अन्तर्राष्ट्रिय अदालतमा कुरा उठाउन आवश्यक रहेको बताए । प्रदेश विघटन गरी त्यसको खर्च विकास निर्माणमा लगाउनुपर्ने उनले बताए ।

त्यस्तै राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले सरकारको नीति तथा कार्यक्रमले कृषि, उद्योग, स्वास्थ्य, शिक्षा, उत्पादन, रोजगारी लगायत समग्र क्षेत्रलाई समेटेको भन्दै समर्थन गरे।

त्यस्तै राष्ट्रिय सभा सदस्य युवराज शर्माले बाँके जिल्लामा कृषिको प्रचुर सम्भावना रहेको भन्दै नीति तथा कार्यक्रममा बाँके जिल्लामा कृषि विश्व विद्यालय खोल्न माग गरे । उनले निजी विद्यालयले शिक्षाको नाममा गरिरहेको व्यापारीकरणलाई निरीक्षण गर्नुपर्ने उनको माग छ ।

त्यस्तै राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले नीति तथा कार्यक्रम विगतको भन्दा प्रगतिशील भएको दाबी गरिन । उनले यो नीति कार्यान्वयन भए समुन्नत नेपालको कल्पना पूरा हुने बताइन । हरेक वडामा शिशु स्याहार केन्द्रको स्थापना गर्नुपर्नेमा उनले जोड दिइन ।

त्यस्तै राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले केही मन्त्रालयहरूले वडा तहका कामलाई पनि आफ्नो अधिनमा राख्नु दुःखद् भएको बताए । उनले नीति तथा कार्यक्रममा बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकता नदिएको गुनासो गरे ।देवकोटाले सरकारले हरेक वर्ष नीति अनुसार काम नगर्दा विमानस्थल तुहिएर जान्छ कि भन्ने डर पैदा भएको बताए ।

त्यस्तै राष्ट्रिय सभामा अन्य सदस्यहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । सदस्य तुलसाकुमारी दाहालले नीति तथा कार्यक्रम जनताको चाहना र आवश्यक्ता विपरीत भएको बताइन ।

यस्तै, सदस्य भुवनबहादुर सुनुवार, नन्दा चपाईं, प्रकाश पन्त, गंगाकुमारी बेलवासे लगायतले नीति तथा कार्यक्रम उत्कृष्ट रहेको बताए ।राष्ट्रिय सभाको बैठक सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले बोल्ने क्रम नसकिएकोले शुक्रवार ११ बजेका लागि पुनः बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस