सफल संवाद

रजश्वलाको रगत अशुद्ध हुँदैन, त्यो शुद्ध रगत नै हो

सूर्यप्रकाश कँडेल

सोमबार, ०७ जेठ २०७५, ०९ : २६

चितवन । पाँच वर्षअघि मदन पुरस्कार पाउन सफल पुस्तक खलंगामा हमलाकी लेखक राधा पौडेललाई हिजोआज मर्यादित महिनावारीबारे प्रवचन दिँदै हिँड्न भ्याइनभ्याई छ । गृहजिल्ला चितवनदेखि राजधानी काठमाडौंमात्र होइन विकट कर्णालीदेखि विदेशमा युरोप, अमेरिका र अफ्रिकासम्म उनी महिनावारी र महिला सशक्तिकरणको अनुसन्धान र अध्ययनमा व्यस्त छिन् । रजश्वलाको रगत अशुद्ध हुँदैन भन्ने मान्यता राख्ने पौडेल नेपालमा मात्र नभई विश्वका विकसित राष्ट्रमा समेत महिनावारी भएका बेला महिलामाथि विभेद हुने गरेको बताउँछिन् । यस्तो विभेदको रुप र मात्रा भने फरक रहेको उनको बुझाई छ ।

२०३० साल पुस १४ गते चितवनको आनन्दपुरमा आमा गंगामायाको कोखबाट जन्मिएकी पौडेल अहिले चितवनको गौरीगञ्जमा बुबा देवीप्रसादसँग बस्दै आएकी छिन् । उनको बसाई चितवनभन्दा धेरै कर्णाली र विदेशतिर हुन्छ । पाँच दिदीबहिनीमध्ये काहिँली पौडेलका एक भाइ छन् । गौरीगञ्ज निम्नमाध्यमिक विद्यालयबाट औपचारिक शिक्षा सुरु गरेकी पौडेलले २०४६ सालमा चितवनकै प्रेमबस्ती माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा दिइन् । पोखरा नर्सिङ क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह सिध्याएकी पौडेलले महाराजगञ्ज नर्सिङ क्याम्पसबाट बीएनको पढाई पूरा गरिन् । सप्तगण्डकी बहुमुखी क्याम्पसबाट बीएड र त्रिभुवन विश्वविद्यालय कृतिपुरबाट एमएडको पढाई सकेपछि पौडेलले त्रिचन्द्र कलेज काठमाडौंबाट समाजशास्त्रमा एमए सिध्याइन् । विकास व्यवस्थापन विषयमा फिलिपिन्सबाट डिग्री गरेकी पौडेल अहिले सामाजिक अभियन्ता, लेखक र कविका रुपमा परिचित छिन् ।

भरतपुर अस्पतालबाट २०५१ सालमा नर्सिङ पेशाम प्रवेश गरेकी उनले २०५८ सालमा भरतपुर अस्पतालबाटै नर्सिङ पेशामा पूर्णविराम लगाइन् । पछिल्लो समय राधा पौडेल फाउण्डेसनको अध्यक्षका रुपमा समाज रुपान्तरको लागि क्रियाशील पौडेलको रुचि साहित्यमा सानै उमेरदेखि थियो । पोहोर साल मर्यादित महिनावारी सबैको जिम्मेवारी भन्ने पुस्तक लेखेकी उनले जेठको पहिलो शनिबार भरतपुरमा आफ्नो कवितासंग्रह शान्तिका पाइलाहरु विमोचन गराएकी छिन् ।

चितवनकी चेली पौडेलले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा शान्ति, सशक्तिकरण, मानवअधिकार र मर्यादित महिनावारीको विषयमा केन्द्रित रहेर अनुसन्धान गर्ने, तालिम दिने र वकालत गर्ने काम गर्दै आएकी छिन् । प्रथमपटक रजश्वला हुँदा घरबाट भागेर दिदीको घर गएको स्मरण गर्दै उनी भन्छिन्, ‘रजश्वला हुनु पाप होइन, प्राकृतिक घटना हो भन्ने कुरा किशोरीहरुलाई बुझाउन आवश्यक छ । हाम्रा पाठ्यक्रममा रजश्वलाबारे पर्याप्त सामग्री छैन । रजश्वलाको रगत अशुद्ध हुँदैन, त्यो शुद्ध रगत नै हो भन्ने आज पनि धेरैलाई थाहा छैन ।’

विश्वभर मे महिनालाई महिनावारी अधिकारको महिनाका रुपमा मनाइन्छ । मे २८ तारिख अन्तर्राष्ट्रिय महिनावारी व्यवस्थापन दिवस पनि हो । प्रस्तुत छ, सफल खबर डट कमको विशेष प्रस्तुति सफल संवाद अन्तर्गत सामाजिक अभियन्ता राधा पौडेलसँग मर्यादित महिनावारीको विषयमा केन्द्रित भई गरिएको भिडियो वार्ता :

 

प्रतिक्रिया दिनुहोस